Syangja Update Communication
"गल्याङ नगरपालिका द्वारा १९१ जना विधार्थीलाई छात्रवृत्ति प्रदान"

गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनु नपरोस भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र १२ मा अध्ययनरत अति गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको छ।

गल्याङ नगरपालिकाभित्रका गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत एक वर्षको जनही रु १० हजार आठ सय प्रदान गरिएको हो ।

यसैगरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्र वृत्तिस्वरुप जनही रु तीन हजार छ सय उपलब्ध गराइएको छ । नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ, यस वर्ष क्याम्पस तहमा अध्ययनरत ७० जनाको मासिक शुल्क निःशुल्क,अति विपन्न २ जना, कक्षा ११ र १२ मा अध्ययनरत ९९ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।

यस वर्ष पालिकाबाट १सय ८१ जनालाई मासिक शुल्क तथा छात्रवृत्ति गरी रु १२ लाख १७ हजार ८ सय वितरण गरिएको छ। अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सम्बन्धित क्याम्पस तथा विद्यालयले छात्रवृत्तिका लागि आवेदन माग गर्ने र प्राप्त आवेदनलाई कार्यविधिमा रहेर पालिकामा सिफारिस गर्नुपर्ने छ।

विद्यार्थीले दिएका आवेदनउपर छानबिन गरी सम्बन्धित विद्यालयले पालिकामा सिफारिस  गर्ने र वास्तविक विद्यार्थी छनोट गरी छात्रवृत्ति तथा मासिक शुल्क पालिकाबाट उपलब्ध गराउने गरिएको छ।

मासिक शुल्क तिर्न नसकी शिक्षाबाट कोही पनि वञ्चित हुन नदिन र शिक्षामा सबैको पहुँच स्थापित गर्ने उद्देश्यसहित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

विसं २०७९ मा नगरप्रमुखमा निर्वाचित भएर आइसकेपछि पदभार ग्रहण गर्दाकै बखतमा निर्णय गरिएको थियो”, उहाले भन्नु भयो “सोही निर्णयको कार्यान्वयन गर्दै क्याम्पस तथा सामुदायिक विद्यालयका अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क तथा छात्रवृत्ति उपलब्ध गराएका हौँ ।

यो अभियानले नगरको शैक्षिक रुपान्तरणका लागि पनि महत्त्वपूर्ण टेवा पुग्ने विश्वास छ । पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमात्रै अघिल्लो कक्षामा अध्ययन गर्न पुनः छात्रवृत्ति पाउनेछन् । अनुत्तीर्ण विद्यार्थीले भने पुनःउक्त सुविधा पाउने छैनन् । 

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update