अहो! नेपाल प्रहरीको यो अतुलनीय र ऐतिहासिक बहादुरीलाई शब्दमा बयान गर्न त सायद सात जन्म पनि कम होला। जहाँ करोडौँ पर्ने सुनका क्विन्टलका क्विन्टल भारीहरू जादुमयी ढङ्गले विमानस्थलबाटै गायब हुन्छन् र ती पहाड जत्रा सुनका डल्लाहरू देख्दा हाम्रा सुरक्षाकर्मीका आँखाहरू 'योग साधना'मा बसेझैँ आफैँ बन्द हुन्छन्, त्यहाँ आज यी गरीब किसानका आठ-दश रुपैयाँ किलोमा बिक्री हुने गुर्जे गानो देख्नेबित्तिकै प्रहरीको दृष्टि 'बाँजको आँखा' झैँ तेजिलो हुनु साँच्चै विश्वकै आठौँ आश्चर्य हो। धन्यवाद दिनैपर्छ त्यो महान् अनुसन्धान टोलीलाई, जसले ठूला तस्करहरूका अगाडि मौन व्रत धारण गरे पनि जङ्गलमा भोकभोकै पसिना बगाएर दुई छाक टार्न खोज्ने किसानको गाडी देख्नेबित्तिकै वीरताको साइरन बजाउन सफल भयो।
एकातिर एक किलोको ३० करोड २७ लाख पर्ने सुनको भन्सार सेटिङमा आँखा चिम्म गरेर बस्न सक्ने कस्तो गज्जबको क्षमता, अर्कोतिर तिनै सुन तस्करका अगाडि लाचार बन्ने तर सिङ्गो जङ्गल रित्तिँदै जाँदा पत्तो नपाउने प्रशासनले आज ११ क्विन्टल गुर्जे गानो समातेर देशको ढुकुटी नै बचाएझैँ गरी जुन उत्सव मनाउँदै छ, त्यो देख्दा लाग्छ— हाम्रो देशको कानुन भनेकै साना भुरा माछालाई थुन्न र ठूला गोहीलाई पौडिन सिकाउनका लागि मात्र बनेको हो। हिजोसम्म जङ्गल सकिँदा कुम्भकर्ण झैँ निदाएको प्रहरी आज एउटा गाडी समातेर ठूलै युद्ध जितेको अभिनय गर्दै छ, मानौँ यो गुर्जे गानो समातेपछि अब देशबाट सबै तस्करीको अन्त्य भइसक्यो।
यो कस्तो विडम्बनापूर्ण न्याय हो, जहाँ करोडौँको भ्रष्टाचार र सुन तस्करीमा संलग्नहरूलाई सरकारी सुरक्षामा सम्मानपूर्वक हिँडाइन्छ, तर मुटु सुकाउने गरी जङ्गलमा दुःख गरेर सकिनसकी गानो खन्ने गरीबको पसिनालाई चाहिँ अपराधीको ट्याग भिराएर अनुसन्धानको नाममा सास्ती दिइन्छ। सायद राज्यको नजरमा सुनभन्दा गुर्जे गानो बढी खतरनाक भएरै होला, त्यसैले त सुन देख्दा हराउने प्रहरीको 'ईमानदारिता' जडिबुटी देख्नेबित्तिकै जुरुकजुरुक जाग्छ। सलाम छ यो दोहोरो मापदण्ड बोकेको सक्रियतालाई, जसले गरीबको चुल्हो बलेको सहन सक्दैन तर तस्करको महल ठडिएकोमा चाहिँ गर्वका साथ पहरेदारी गर्छ। वास्तवमै, सानालाई ऐन र ठूलालाई चैन भन्ने उखानलाई नेपाल प्रहरीले यो गुर्जे गानो काण्डमार्फत पुनः एकपटक ठूलो अक्षरमा प्रमाणित गरिदिएको छ।


