वालिङ शिक्षामा खनालको ‘स्टाटस बम’: २० लाखको आर्थिक चलखेल पुष्टि गर्ने चुनौती, को-को पर्लान् त कारबाहीमा?
संवाददाता, वालिङ
वालिङ, स्याङ्जा । वालिङको शैक्षिक क्षेत्रमा शिक्षक सरुवा, बढुवा र समायोजनका नाममा मोटो रकमको ‘बार्गेनिङ’ हुने गरेको सनसनीपूर्ण खुलासा भएको छ। स्थानीय शिक्षक अमृत प्रसाद खनालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक सूचीले यतिबेला वालिङको प्रशासनिक र शैक्षिक वृत्तमा ठूलो तरङ्ग पैदा गरिदिएको छ।
खनालले फेसबुकमा सार्वजनिक गरेको १० बुँदे ‘रेट लिस्ट’ अनुसार विभिन्न विद्यालयमा दरबन्दी मिलान र सरुवाका नाममा झण्डै २० लाख रुपैयाँ बराबरको अनियमितता भएको दाबी गरिएको छ।
के छ खनालको दाबीमा?
खनालले सार्वजनिक गरेको विवरणमा हिमाली मावि, जनहित, रणवीर मावि लगायतका क्षेत्रमा दरबन्दी मिलाउँदा ३ लाखदेखि ५० हजारसम्मको लेनदेन भएको उल्लेख छ। उनले यसलाई "पैसा खाएर सरुवा गर्ने तनाव मनुवाहरूका लागि आउने सरकारलाई १० कार्यक्रम" भन्दै व्यङ्ग्यात्मक तर कडा शैलीमा सार्वजनिक गरेका छन्।
यस विषयमा सत्यतथ्य बुझ्न खोज्दा दाबीकर्ता खनालको टेलिफोन भने उठ्न सकेको छैन। सामाजिक सञ्जालमा चर्चाका लागि स्टाटस लेख्ने र पछि हटाउने 'पुरानो रोग' यो पटक निको हुन्छ वा हुँदैन भन्नेमा धेरैको चासो छ। यद्यपि, यो समाचार तयार पार्दासम्म खनालले आफ्नो स्टाटस हटाएका छैनन्, जसले गर्दा विषय थप गम्भीर बनेको छ।
हामीले यस विषयमा नगरपालिकाको शिक्षा शाखा र सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छौँ। शिक्षक सरुवामा राजनीतिक चलखेलको चर्चा चल्ने गरेको वालिङमा अहिले सिधै आर्थिक अङ्क नै तोकेर आएको यो विषयले निकै ठूलो प्रश्न खडा गरेको छ।
यदि खनालको दाबी प्रमाणित भएमा यो वालिङ शिक्षा क्षेत्रको ठूलो भ्रष्टाचार काण्ड ठहरिनेछ र यसमा संलग्न शिक्षक तथा बिचौलियाहरू कारबाहीको दायरामा आउनैपर्छ। तर, यदि यो दाबी केवल चर्चाका लागि मात्र गरिएको पुष्टि भएमा, स्वयं खनालले पनि कानुनी र नैतिक प्रश्नको सामना गर्नुपर्ने देखिन्छ।


