गोविन्द गैह्रे, वालिङ (स्याङ्जा)
वालिङ, स्याङ्जा । "किताबको ज्ञान कक्षाकोठामा, पसिनाको मूल्य माटोमा" — यही मान्यतालाई आत्मसाथ गर्दै स्याङ्जाको वालिङ-१०, फूलबारीस्थित पूर्णमृत भवानी माध्यमिक विद्यालयले शिक्षालाई उत्पादनसँग जोड्ने एउटा उदाहरणीय प्रयास थालेको छ। विद्यालयले 'पढाइसँगै सीप, सीपसँगै कमाइ' भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै व्यावसायिक कृषि परियोजना सुरु गरेको हो।
केरा खेतीबाट आत्मनिर्भरताको पाठ
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याङ्जाको ७५ प्रतिशत अनुदान र विद्यालयको २५ प्रतिशत साझेदारीमा कुल ५ लाख ६५ हजार ३०० रुपैयाँको लागतमा यो परियोजना अगाडि बढाइएको छ। विद्यालय परिसरको करिब १० रोपनी क्षेत्रफलमा अहिले जी-नाइन (G-9) जातका १००० वटा केराका बिरुवा रोप्ने कार्य उत्साहजनक रूपमा सुरु गरिएको छ।
प्राविधिक शिक्षा र व्यवहारिक अभ्यास
२०७२ सालदेखि कक्षा ९ देखि १२ सम्म प्लान्ट साइन्स (Plant Science) विषय अध्यापन गराउँदै आएको यस विद्यालयले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित राखेको छैन। विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा माटो र बिरुवासँग जोडेर उनीहरूमा श्रमप्रति सम्मान, उद्यमशीलता र स्वावलम्बनको भावना विकास गराउने विद्यालयको लक्ष्य छ।
यसअघि पनि विद्यालयले न्यू गाउँबेसी सहकारीसँगको सहकार्यमा मौसमी तथा बेमौसमी तरकारी खेती, पराले च्याउ उत्पादन र नर्सरी व्यवस्थापन जस्ता कार्यहरू सफल रूपमा सम्पन्न गरिसकेको छ।
"हाम्रो उद्देश्य विद्यालयलाई केवल ज्ञान बाँड्ने थलो मात्र नभई उत्पादन र आम्दानीको केन्द्र बनाउनु पनि हो। यो पहल विद्यार्थीको सीप विकास र व्यावसायिक शिक्षाका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ।"
— दीपक लम्साल, प्रधानाध्यापक
स्थानीय सरकार र समुदायको ऐक्यवद्धता
विद्यालयको यो नवीन कार्यलाई वालिङ नगरपालिकाले पनि विशेष चासोका साथ हेरेको छ। नगरपालिकाका उपप्रमुखले विद्यालयको यस प्रयासको प्रशंसा गर्दै भन्नुभयो, "यस्ता व्यवहारमुखी शिक्षाले नै युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर आफ्नै गाउँठाउँमा सम्भावना खोज्न प्रेरित गर्छ। यो समग्र शिक्षा प्रणालीका लागि एउटा सकारात्मक सन्देश हो।"
स्थानीय बौद्धिक वर्ग र अभिभावकहरूले समेत शिक्षा र उत्पादनबीचको दूरी घटाउन यस्ता परियोजनाले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
समृद्धिको नयाँ बाटो
नेपालमा कृषिप्रतिको आकर्षण घट्दै गइरहेका बेला पूर्णमृत भवानी माविले देखाएको यो बाटोले नयाँ पुस्तालाई 'सिकाइ र कमाइ'सँगै जोडेर आत्मनिर्भर बन्न मार्गनिर्देशन गरेको छ। यो परियोजना केवल एउटा खेती मात्र नभई, समृद्ध नेपालका लागि दक्ष र उत्पादनशील जनशक्ति तयार पार्ने एउटा जीवन्त पाठशाला बनेको छ।


