वालिङ्
पूर्णामृत भवानी माविको सिर्जनात्मक प्रस्तुति केन्द्रमा
वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १४ गतेदेखि सुरु भएको नवौँ वालिङ महोत्सव २५ गतेसम्म सञ्चालन हुने क्रममा महोत्सवले व्यापारिक मात्रै होइन, शैक्षिक र कृषि क्षेत्रमा समेत उल्लेखनीय सन्देश दिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई शैक्षिक र कृषि प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरेर सङ्घले शिक्षालाई प्राथमिकतामा राखेको देखिन्छ।
यसै सन्दर्भमा स्याङ्जा जिल्लाकै पुरानो शैक्षिक संस्था, वि.सं. २०१९ सालमा स्थापित श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय यतिबेला महोत्सवको प्रमुख आकर्षण बनेको छ। यस विद्यालयले करिब एक महिना अघि सम्पन्न फुड महोत्सवमा पनि वालिङ बजारको केन्द्रमा चर्चा कमाएको थियो, र अहिलेको महोत्सवमा पनि आफ्नो सक्रियता र रचनात्मक प्रस्तुतिले दर्शकको ध्यान तानेको छ।
विद्यालयले विद्यार्थी सिकाइलाई व्यवहारिक र सीपमूलक बनाउने उद्देश्यसहित विज्ञान, कृषि र व्यावसायिक शिक्षासँग सम्बन्धित विविध सामग्री प्रदर्शन गरेको छ। विद्यार्थीहरूद्वारा तयार पारिएका विज्ञानका नमुना सामग्री, कृषि प्रविधिसम्बन्धी अभ्यास तथा सीपमूलक डोको बुन्ने प्रत्यक्ष कार्यक्रम महोत्सव अवलोकनकर्ताका लागि विशेष आकर्षण बनेका छन्। परम्परागत सीपलाई आधुनिक सिकाइसँग जोड्ने विद्यालयको प्रयासले शिक्षाको वास्तविक उद्देश्यलाई झल्काएको छ।
त्यसैगरी, वालिङ आसपास बग्ने आँधीखोलाका ढुङ्गामा चित्र कोर्ने कला पनि विद्यालयको अर्को नौलो प्रस्तुति हो। प्राकृतिक स्रोतलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै ती चित्रित ढुङ्गाहरूलाई भविष्यमा व्यावसायिक उत्पादनको रूपमा बजारमा लैजान सकिने सम्भावनाले दर्शकमा उत्साह थपेको छ। यसले स्थानीय स्रोत, कला र उद्यमशीलतालाई एउटै थलोमा जोड्ने सन्देश दिएको छ।
समग्रमा, पूर्णामृत भवानी माविको सहभागिताले वालिङ महोत्सवलाई केवल व्यापारिक मेलाबाट माथि उठाएर शिक्षा, सीप र उद्यमशीलताको साझा मञ्चको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ। महोत्सवमा विद्यालयको प्रस्तुति अहिले दर्शक, अभिभावक र शिक्षाप्रेमी सबैको चासोको केन्द्र बनेको छ ।


