Syangja Update Communication
रोटर्याक्ट क्लब अफ वालिङद्वारा 'किशोरी नेतृत्व तथा सचेतना अभिवृद्धि' कार्यक्रम सम्पन्न: ६० छात्रा लाभान्वित


वालिङ।
        रोटर्याक्ट क्लब अफ वालिङको आयोजनामा वालिङमा एक दिने 'किशोरी नेतृत्व तथा सचेतना अभिवृद्धि' कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। किशोरीहरूलाई आत्मविश्वासी, नेतृत्वक्षम र सुरक्षित बनाउने उद्देश्यका साथ मंगलबार आयोजित यस कार्यक्रममा वालिङका तीन विद्यालयबाट प्रतिनिधित्व गर्दै करिब ६० जना छात्रा विद्यार्थी तथा शिक्षक प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।
 
कार्यक्रमकी अध्यक्ष तथा रोटर्याक्ट क्लब अफ वालिङकी अध्यक्ष आयुष्मा काफ्लेले किशोरीहरूलाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न यस्ता प्रशिक्षण अत्यावश्यक रहेको बताउनुभयो।
अध्यक्ष काफ्लेले भन्नुभयो, "कुनै पनि स्थानमा हिंड्दा डर, संकोच वा कठिनाइले उनीहरूको बाटो नछेकेस्। आफ्नै अधिकारप्रति सजग, निर्णय लिन सक्षम र समाजलाई दिशा दिन सक्ने 'अगुवाइ महिला' बन्ने यात्रा यहींबाट सुरु हुन्छ।" उहाँले आजका किशोरीहरूलाई सुरक्षित, सक्षम र स्वाभिमानी बनाउने वातावरण निर्माण गर्न क्लब निरन्तर प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवम् वालिङ वडा नं. २ का वडाध्यक्ष पोत प्रसाद लम्सालले विद्यालय तथा समुदाय–स्तरमै किशोरी नेतृत्व र सुरक्षा चेतनाका कार्यक्रमहरू विस्तार गर्न आवश्यक रहेको औंल्याउनुभयो।
वडाध्यक्ष लम्सालले "यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान दिन्छन् र विद्यार्थीहरूलाई बलियो बनाउँछन्," भन्दै रोटर्याक्ट क्लबको सक्रियताको उच्च प्रशंसासहित धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा रोटरी क्लब अफ वालिङका अध्यक्ष मनि सुवेदी, पुर्व अध्यक्ष सीता पान्डे (डुम्रे), समाजसेवी जैसरा रेग्मी, नेतृ मैना कुमारी अर्याल, अकला आवाज प्रबन्ध सम्पादक तथा पत्रकार धुर्व गौडेल, र पत्रकार भविस्वर गैरै लगायत विभिन्न व्यक्तित्वहरूको सक्रिय उपस्थिति र शुभकामना रहेको थियो।
रोटर्याक्ट क्लब अफ वालिङले यस किसिमका कार्यक्रमले किशोरीहरूको नेतृत्व क्षमता, आत्मरक्षा चेतना, व्यक्तिगत सुरक्षा बोध र सकारात्मक व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
अध्यक्ष आयुष्मा काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सम्पूर्ण सञ्चालन रोटर्याक्ट क्लबकी सदस्य बिना रेग्मीले गर्नुभएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update