
वालिङ-हुवास सडक खण्डको दुर्दशा: एक महिना भन्दा बढी बन्द गरेर पनि निर्माण सम्पन्न भएन बाटो अवरुद्ध, स्थानीय मारमा
स्याङ्जा: वालिङ-हुवास सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ती र लापरबाहीका कारण दक्षिणी पर्वतका जनताहरूले ठूलो सास्ती भोग्नुपरेको छ। एक महिनाभन्दा बढी समयदेखि बाटो बन्द गरेर पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा स्थानीय बासिन्दाहरू मारमा परेका हुन्।
प्राप्त जानकारी अनुसार, सडक निर्माणको जिम्मा लिएको कम्पनीले तोकिएको समयमा काम पूरा नगरेको मात्र होइन, निर्माणका क्रममा निस्किएको माटो र ढुङ्गा सफा गर्नसमेत बेवास्ता गरेको छ। यसले गर्दा सडक पूर्ण रूपमा अवरुद्ध भई यातायात तथा आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ।
निर्माण कम्पनीको यस्तो गैरजिम्मेवारीपनपछि स्याङ्जा क्षेत्रमा पर्ने पैयुँ गाउँपालिकाले आफ्नै पहलमा बाटो सफा गर्न आफ्नै पालिकाको डोजर परिचालन गरेको छ। त्यहाँका केही स्थानीयले जानकारी दिनुभए अनुसार, निर्माण कम्पनीले सफा नगरेपछि स्थानीय सरकारले जनताको समस्या समाधानका लागि यो कदम चालेको हो।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामी ओसारपसार र विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा समेत कठिनाइ भएको स्थानीय बासिन्दाहरूको गुनासो छ। निर्माण कम्पनीको लापरबाहीले गर्दा जनताले अनावश्यक दुःख पाएको भन्दै उनीहरूले तत्काल सडक निर्माण सम्पन्न गर्न र अवरोध हटाउन माग गरेका छन्।
यस घटनाले विकास निर्माणका परियोजनाहरूमा हुने ढिलासुस्ती र ठेकेदार कम्पनीहरूको जवाफदेहितामाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायले यस विषयमा तत्काल ध्यान दिई सडक निर्माण कार्यलाई तीव्रता दिन र जनताको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ।