Syangja Update Communication
कर्जा तिरे पनि व्यवसायीलाई कालोसूचिमा - इन्भेष्टमेण्ट मेगा बैंकको चरम लापरवाही

कर्जा चुक्ता गरिसकेपछि पनि व्यवसायीलाई कालोसूचिमा राखेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चरम लापरवाही मात्र हैन, नागरिकको इज्जत र पेशागत हैसियतमाथि घोर प्रहार गरेको छ।

व्यवसायीले गत असार ३२ गते वालिङ शाखाबाट आफ्नो सम्पूर्ण कर्जा चुक्ता गरिसकेका थिए। तर त्योभन्दा चार दिनपछि, साउन ४ गते, कर्जा सूचना केन्द्र (सीआईबी) मा उनको नाम कालोसूचिमा राखिएको जानकारी आएको हो।

यो केवल प्रक्रियागत ढिलाइ हैन, यो लापरवाही, गैरजिम्मेवारी र बैंकको गैह्रपेशागत चरित्रको प्रमाण हो। वालिङ शाखाका प्रबन्धक कुमार केसीले कर्जा सूचना केन्द्रमा नाम पठाउने प्रक्रिया असार २९ मै गरिएको दाबी गरे पनि, असार ३२ मा ऋण चुक्ता भइसकेको अवस्थामा नाम हटाउन पहल नगर्नु स्पष्ट नियतवश गरिएको कदम ठहर्छ।

“मैले सबै कर्जा समयमा वैककै सहमतीमा चुक्ता गरेँ। तर बैंकले नै मलाई बदनाम बनायो। अब म कानुनी बाटोबाट न्याय खोज्छु,” पीडित व्यवसायीको रोष छ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम परेपछि पीडितले अन्य कुनै पनि बैंकबाट कर्जा लिन, ग्यारेन्टी पाउन, वा आर्थिक कारोबार गर्न नपाउने अवस्था सिर्जना हुन सक्छ। यस्तो अन्यायपूर्ण व्यवहारले बैंकप्रति ग्राहकको विश्वास धरापमा परेको छ।

यस घटनाले स्पष्ट पारेको छ देशका ठूला भनिने बैंकहरू अझै पनि सर्वसाधारणलाई हेप्ने, झुट्टा प्रक्रियामा फसाउने, र इज्जतमाथि खेलवाड गर्ने प्रवृत्तिमा उद्दत छन ।

बैंकले तत्काल गल्ती स्वीकार्दै पीडितलाई पुगेको क्षतिका विषयमा कर्जा सूचना केन्द्रमा उनको रेकर्ड मेटाउनुपर्ने माग व्यवसायी र सरोकारवालाहरूले गरिरहेका छन्।

प्रकाशित मिति: शनिबार, साउन १८, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update