Syangja Update Communication
वालिङ-हुवास सडक: एक महिनाको बन्दले पनि  अधुरै, दक्षिणी पर्वतका बासिन्दा मारमा

वालिङ-हुवास सडक: एक महिनाको बन्दले पनि अधुरै, दक्षिणी पर्वतका बासिन्दा मारमा
वालिङ, साउन ७। वालिङदेखि हुवास जोड्ने सडक एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा दक्षिणी पर्वतका बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको छ। सडक स्तरोन्नतिको नाममा लामो समयसम्म अवरुद्ध गरिएको यो मार्ग अझै अलपत्र हुँदा यस क्षेत्रको जनजीवन निकै नै सास्ती  भएको छ।
स्थानीय प्रशासनले सडक निर्माणका लागि भन्दै एक महिनाअघि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। तर, निर्धारित समय बितिसक्दा पनि ठेकेदार कम्पनीले काम पूरा गर्न सकेको छैन, जसका कारण दक्षिणी पर्वतका बासिन्दाले आवतजावतमा चरम कठिनाइ भोगिरहेका छन्। दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुनुका साथै बिरामीलाई अस्पताल लैजान र विद्यार्थीलाई विद्यालय जान पनि निकै समस्या भइरहेको स्थानीय बासिन्दाको गुनासो छ।
"एक महिना बन्द गर्दा बाटो बन्छ भनेर हामीले धैर्य गर्यौँ, तर अहिले एक महिनाभन्दा बढी भइसक्यो, काम अझै सकिएको छैन," एक स्थानीयले भने, "हाम्रो मर्का कसैले बुझ्दैनन्।"
निर्माण व्यवसायीको ढिलासुस्ती र सरकारी निकायको फितलो अनुगमनका कारण आफूहरूले पटक-पटक सास्ती भोग्नुपरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले तत्काल सडक निर्माण कार्य सम्पन्न गरी यातायात सुचारु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यदि तत्काल पहल नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी पनि उनीहरूले दिएका छन्।
यस विषयमा सम्बन्धित ठेकेदार कम्पनी र सरकारी अधिकारीहरूसँग बुझ्दा ठोस जवाफ प्राप्त हुन सकेको छैन। सडकको यो दुर्दशाले यस क्षेत्रको आर्थिक गतिविधिमा समेत नकारात्मक असर परेको छ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update