Syangja Update Communication
बजेटमा नसमेटिएपछि धार्मिक पर्यटनको केन्द्र राम्दीधाम फेरी ओझेलमा

प्रकाश डुम्रे/

वालिङ् स्याङ्जा र पाल्पाको सिमाना तथा सिद्धार्थ राजमार्गको काखमा अवस्थित राम्दीधाम नेपालकै महत्त्वपूर्ण धार्मिक पर्यटनको केन्द्रको रुपमा मानिदै आएको छ । धार्मिक पर्यटनको रुपमा पछिल्लो समय राम्दीधाम महत्त्वपूर्ण केन्द्रको रुपमा समेत स्थापित हुदै आएको हो । नेपाली तथा भारतीय धार्मिक पर्यटकहरु दिनहुँजसो दर्शनको लागि राम्दीमा आउने गरेका छन् । राम्दी हुदै सिद्धार्थ राजमार्ग हुदै मुक्तिनाथ सम्म जाने भारतीय पर्यटकहरु राम्दीमा स्नान गरेर मुक्तिनाथ जाने गरेको राम्दीका स्थानीय अगुवा कृष्ण बस्यालले बताए । राम्दीधाम धार्मिक क्षेत्र मात्रै होइन दर्जनौं जिल्लाका नागरिकहरुको मृत्यु पश्चात् भौतिक विदाई गरिने अन्तिम घाट समेत हो । हिन्दु परम्परा अनुसार मृत्यु पश्चात् राम्दीघाटमा लगेर दाहंसंस्कार गरिने दशकौंदेखिको परम्परा रहेको छ । स्याङ्जा,पाल्पा,रुपन्देही,गुल्मी लगायत विभिन्न जिल्लामा मृत्यु पश्चात् राम्दीधाममा लगेर अन्तिम संस्कार गर्ने गरिन्छ । तर राम्दीघाट अहिलेसम्म व्यवस्थित गर्न नसक्दा अस्तव्यस्त हुदै आएको छ । व्यवस्थित शव दाहस्थल नहुनु र दाहसंस्कार स्थलसम्म जाने बाटोसमेतको सहज नहुदा हजारौं मलामीहरुले दुख र हैरानी भोग्दै आएका छन् । घाटस्थलमा किरियापुत्री भवन समेत छैन । कहिलेकाही विदेश तथा टाढा रहेका आफन्ती आउन ढिला गरेर लास राख्ने र मलामी बसाल्ने अवस्था समेत राम्दीमा छैन् । राम्दीधाम जहा बार्षिक रुपमा हजारौं भारतीय पर्यटकहरु आउछन्,स्नान गर्छन् र स्थानीय बजारलाई चलायमान गराउछन् । तर त्यहाँका संरचनाहरु र स्नानस्थल समेत व्यवस्थित नहुदा राम्दीको महत्त्व घट्दै गएको छ । कतिपय पाका उमेरका भक्तजनहरु अफ्ट्यारो बाटोका कारण स्नान गर्न समेत जान नसकी माथिनै बस्ने गरेको गुनासो धेरै पहिलेदेखि सुनिदै आएको थियोे । राम्दीधाममा व्यवस्थित स्नानधाम र त्यहाँसम्म जाने राम्रो मार्ग हुने हो भने धार्मिक पर्यटनको सम्भावना अझै बढ्ने थियोे । राम्दीधाममा बार्षिक रुपमा दर्जनौं विवाह,व्रतबन्ध तथा धार्मिक अनुष्ठानहरु चलिरहेका हुन्छन् । ठुला-ठुला ऐतिहासिक एवम् धार्मिक मेलाहरु समेत लाग्छन् । एकादशी लगायतका कतिपय पर्वमा हजारौं हजार तिर्थालुहरु राम्दीधाममा जुट्ने गर्दछन् । गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईका अनुसार राम्दीधामको महत्त्व बुझेर संघीय सरकार र प्रदेश सरकारलाई पटकपटक योजना व्यवस्थापनका लागि माग गरेको बताए । तर योजना छनोटमा पुर्वाग्रह राखेर राम्दी भन्दा कम महत्त्वका ठाउँमा करोडौं बजेट पर्दा राम्दीलाई वेवास्ता गरिएको दाबी गरेका छन् । प्रमुख भट्टराईले मुख्यसचिव देखि मन्त्रालयका सचिव र विभागका प्रमुखहरुलाई र क्षेत्रका सांसदहरुलाई समेत यो बिषयमा डिपिआर रिपोर्ट सहित पटकपटक आग्रह गर्दा कुनै सुनुवाइ नगरिएको बताए । पालिकास्तरको बजेटले यो गुरुयोजना थेग्ने अवस्था छैन्,वृहत् राम्दीधाम व्यवस्थापन गर्न संघीय र प्रदेश सरकारले चासो दिनुपर्नेमा कुनै चासो नदिएको आक्रोश नगर प्रमुख भट्टराईको थियोे । नगरपालिकाले गुरुकुल सञ्चालनका लागि व्यवस्थित संरचना आवश्यक रहे पनि बजेट अभावले धेरै गर्न नसकिएको गुनासो राखेको छ । झण्डै १३० जना जति विधार्थीहरु संस्कृत गुरुकुलमा पढिरहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्नेमा समेत जोड थियो । पालिका तहको बजेटले वृहत् राम्दीको योजना पूरा गर्न कठिनाइ हुने भन्दै संघीय स्रोत मार्फत राम्दीधामलाई व्यवस्थित गर्न पटकपटक सरोकारवाला निकाय मार्फत दबाब दिएपनि राम्दीलाई वेवास्ता गरिएको प्रमुख भट्टराईको दाबी छ । योजना छनोट आवश्यकता र प्राथमिकताका आधारमा भन्दा पहुँच तथा पुर्वाग्रहका आधारमा गरिदा हामी सबैको अन्तिम गन्तव्य राम्दीघाट पछाडि परेको देखिएको छ । सव जलाउन घाटमा बसिरहेको मलामी पानी परेपछि धेरै पटक भागाभाग भएको स्थानीयले बताए । सव जलाईरहदा हावाहुरी सहित पानी पर्छ,ओत लगाउने ठाउँ छैन् । सव त्यतिकै छाडेर माथि तिर दौडिन पर्ने बाध्यता छ । कतिपटक त लास समेत पुरै जलाउन नपाउदै त्यतिकै छाडेर गएको स्थानीयले बताएका छन् । अहिलेसम्म हजारौं मान्छे दाहसंस्कार गरिएको राम्दी घाटमा एउटा व्यवस्थित मलामी प्रतिक्षालय समेत छैन । राम्दीधामलाई व्यवस्थित गराउने सक्ने हो भने बार्षिक हजारौं पर्यटकहरू आउने र त्यहाँको मौलिकता र व्यवसायीक चलायमानता बढ्न सक्थ्यो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update