
वालिङ, ४ जेठ ।
वालिङभित्रका सहकारीहरुले वालिङ नगरपालिकालाई अनुरोधपत्र बुझाएका छन् । आइतबार वालिङ नगरपालिका भित्रका वचत तथा ऋण कारोबार गर्ने सहकारीका प्रमुख तथा प्रतिनिधिहरुले सामूहिकरुपमा वालिङ नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत ख्यामनारायण काफ्ले तथा सहकारी शाखा प्रमुख भुवानी तिवारीलाई अनुरोधपत्र बुझाएका हुन् ।
वर्तमान समयमा सहकारीहरुमा देखिएको समस्याले सहकारी सञ्चालनमा बाधा परेको कारण समस्याको पहिचान गरि समाधानको प्रक्रिया अगाडि बढाउन माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । २४ सहकारीका अध्यक्षहरुद्धारा हस्ताक्षरित अनुरोधपत्रमा सहकारीहरुमा देखिएका समस्याकोबारेमा जानकारी भएको अवस्थामा यसको समाधानका लागि नगरपालिकाले कानूनी प्रक्रिया अनुसार समाधानको बाटो खोज्न माग गरिएको छ ।
वर्तमान समयमा बल्झिएको सहकारी समस्याले सबै सहकारीकर्मीहरुलाई अप्ठ्यारोमा पारेकाले समस्याको समाधानकालागि कानूनी प्रक्रिया सुरु गर्नकालागि वालिङस्थित २४ सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नगरपालिकासमक्ष अनुरोध गरेका हुन् ।
देशैभरीका सहकारीको विषयमा अनेक समाचार सम्प्रेषण भईरहेका बेला वालिङस्थित सहकारीका अध्यक्षहरुको भेलाले वालिङलाई सहकारी समस्यामुक्त नगरपालिका बनाउन लागिपर्नुपर्नेमा जोड दिएको छ ।
सहकारीबीचमा रहेका साझा समस्याहरुको पहिचान गरी एक सहकारीले अर्को सहकारीलाई सहयोग गर्दै अगाडि बढ्ने, वालिङस्थित सहका
री संघ संस्थाका सञ्चालकहरु संयुक्तरुपमा ऋणिका घर जानेलगायतका ९ वटा बूँदाहरुमा छलफल गरी निचोडमा पुगेका हुन् ।