Syangja Update Communication
वालिङमा विद्यार्थी लक्षित जलवायु परिवर्तन सचेतना कार्यक्रम सम्पन्न


वालिङ, स्याङ्जा, चैत ३ — 
        जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र वातावरणीय असन्तुलनबारे युवापुस्तालाई सचेत गराउने उद्देश्यले वालिङमा एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
UNIFY Waling को आयोजनामा सम्पन्न उक्त कार्यक्रम वालिङस्थित भूपु सैनिक इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कूल मा सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालयका ५० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो भने संस्थाका ५ जना स्वयंसेवकहरूले सहजीकरण गरेका थिए।
कार्यक्रममा जलवायु परिवर्तनसँग सम्बन्धित आधारभूत विषयहरू—मौसम र जलवायुबीचको भिन्नता, विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ), यसका मुख्य कारण, प्रभाव तथा न्यूनीकरणका उपायहरू—बारे प्रस्तुति तथा छलफल गरिएको थियो। साथै, वातावरण संरक्षणका लागि व्यवहारमै लागू गर्न सकिने Reduce, Reuse र Recycle (३आर) को अवधारणालाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।
सहभागितामूलक ढङ्गले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नै स्थानीय परिवेशमा देखिएका वातावरणीय समस्याहरू पहिचान गर्न प्रेरित गरिएको थियो। उनीहरूले फोहोर व्यवस्थापन, पानीका स्रोतहरूको संरक्षण तथा हरियाली प्रवर्द्धन जस्ता विषयमा आफ्ना धारणा र समाधानका उपायहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै जिम्मेवार नागरिकको रूपमा भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकले जनाएको छ। पछिल्ला वर्षहरूमा देखिएको तापक्रम वृद्धिको असरलाई मध्यनजर गर्दै यस्ता कार्यक्रमले आगामी पुस्तालाई दीगो विकासतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।
कार्यक्रमको सफलताका लागि विद्यालय प्रशासन तथा शिक्षक–कर्मचारीहरूको समन्वय र सहयोग उल्लेखनीय रहेको UNIFY Waling ले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update