Syangja Update Communication
वालिङ महोत्सवको तयारी तीव्र: ३ सय स्टल बुकिङ हुँदै, कृषि र हस्तकलालाई निःशुल्क स्टल

 

​वालिङ, स्याङ्जा

आगामी माघ १४ गतेदेखि सुरु हुन लागेको 'वालिङ महोत्सव'को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवलाई व्यवस्थित बनाउन स्टल निर्माण र बुकिङको कामलाई तीव्रता दिइएको आयोजकले जनाएको छ।

​स्टल बुकिङ उपसमितिका संयोजक केशव पराजुलीका अनुसार महोत्सवका लागि निर्धारण गरिएका कुल ३५० स्टलमध्ये हालसम्म करिब २ सय २५ स्टलहरू बुकिङ भइसकेका छन्। जग्गा नापजाँच र व्यवस्थापनको कार्य सम्पन्न गरी अहिले भौतिक रूपमा स्टल निर्माणको काम सुरु भइसकेको छ।

​स्थानीय उत्पादन र लक्षित वर्गलाई प्राथमिकता

​महोत्सवमा स्थानीय सीप र उत्पादनलाई विशेष प्रोत्साहन गरिने भएको छ। संयोजक पराजुलीका अनुसार:

  • ​निःशुल्क स्टल: कृषि, कृषि औजार तथा हस्तकलाका लागि ४० भन्दा बढी स्टलहरू पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइनेछ।
  • ​विशेष सहुलियत: स्थानीय व्यापारीहरूलाई प्रोत्साहन गर्न मागका आधारमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
  • ​महिला र अपाङ्गतामैत्री: महिला उद्यमीहरूलाई विशेष सहुलियत दिइनेछ भने अपाङ्गता भएका व्यक्तिहरूका लागि उहाँहरूको आवश्यकता अनुसार निःशुल्क स्टलको व्यवस्था मिलाइएको छ।

​महोत्सवले स्थानीय पुँजी बाहिर लैजान्छ भन्ने भ्रमलाई चिर्दै संयोजक पराजुलीले यसका बहुआयामिक फाइदाहरू प्रष्ट पार्नुभयो। उहाँका अनुसार:

​"महोत्सव अवधिभर स्थानीय ४–५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाउनेछन्। यसका साथै होटल, रेस्टुरेन्ट र यातायात व्यवसायको कारोबारमा वृद्धि भई स्थानीय अर्थतन्त्र चलायमान हुनेछ।"

 

​महोत्सवलाई केवल किनमेलको थलो मात्र नभई खेलाडीहरूका लागि प्रतिभा देखाउने अवसर र आम नागरिकका लागि मनोरञ्जनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गरिने आयोजकको लक्ष्य छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update