
स्याङ्जा । स्याङ्जामा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) ओसारपसार गरिरहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले यी ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित नगरपालिकामा पठाएको छ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, २०८२ भदौ १७ गते साँझ करिब ७:३० बजे प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले भिरकोट नगरपालिका-१, हेलुमा सवारी चेकजाँच गर्ने क्रममा शङ्कास्पद रूपमा ग.१ त. ४६५२ नम्बरको ट्याक्टर फेला पारेको थियो। चेकजाँच गर्दा उक्त ट्याक्टरले अवैध तरिकाले बालुवा ओसारपसार गरिरहेको पाइएपछि प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको ट्याक्टरलाई थप अनुसन्धान र कारबाहीका लागि भिरकोट नगरपालिकाको कार्यालय, स्याङ्जामा पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, भदौ १८ गते बिहान करिब १२:२५ बजे जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको अर्को टोलीले पुतलीबजार नगरपालिका-३, बाँडखोलास्थित सडकमा सवारी साधनको जाँच गर्ने क्रममा ग.१ त. ४७९३ नम्बरको ट्याक्टरले पनि अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको थियो।
प्रहरीले उक्त ट्याक्टरलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाएको छ।
प्रहरीले अवैध रूपमा भइरहेका यस्ता कार्यलाई रोक्न नियमित रूपमा निगरानी तथा कारबाही अघि बढाउने बताएको छ।