Syangja Update Communication
गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा


वालिङ: स्याङ्जा प्रहरीले गैरकानुनी रूपमा ढुंगा उत्खनन तथा ओसारपसार गरिरहेको आरोपमा एक ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
सोमबार बिहान करिब ९:३० बजे वालिङ नगरपालिका वडा नम्बर ६, मिर्दीस्थित आँधिखोला किनारमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले छापा मारेको थियो।
सो क्रममा, ग. १ त. ३४०७ नम्बरको ट्याक्टरमा ढुंगा लोड गरिरहेको अवस्थामा फेला पारी सो ट्याक्टर र त्यसका चालक चुत्र दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ३८ वर्षीय दर्जी वालिङ नगरपालिका वडा नम्बर ६, मिर्दीकै बासिन्दा हुन्। नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वडा प्रहरी कार्यालय, वालिङमार्फत वालिङ नगरपालिकाको कार्यालयमा पठाइएको छ।
अवैध उत्खनन तथा ओसारपसारले प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै यस्ता गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update