
पश्चिम नवलपरासीको बर्दघाटमा प्रहरीले क्रुरतापूर्वक ट्रकमा राखिएका १८ वटा गोरु नियन्त्रणमा लिएको छ। ट्रक चालकलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अनुसार भदौ १२ गते राति करिब १:५० बजे इलाका प्रहरी कार्यालय, बर्दघाटबाट खटिएको चेकिङ टोलीले बर्दघाट नगरपालिका वडा नं. ४, टीसीएन चोकमा जाँच गर्दा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ९१७७ नम्बरको ट्रकलाई रोकेको थियो।
चेकजाँचका क्रममा ट्रकभित्र १८ वटा गोरुहरू निर्दयी ढंगले कोचेर राखेको अवस्थामा फेला परेको थियो। तीमध्ये एउटा गोरु भने मृत अवस्थामा भेटिएको थियो।
प्रहरीले तत्कालै ट्रक चालक मकवानपुर, हेटौंडा उप-महानगरपालिका वडा नं. १९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएको छ। जीवित गोरुहरूको उद्धार गरी सोही दिन दिउँसो ३:५० बजे सुनवल नगरपालिका वडा नं. ३, किर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।
मृत गोरुलाई भने बर्दघाट नगरपालिकामा कार्यरत पशु चिकित्सकको रोहवरमा कानुनी प्रक्रिया पुर्याएर व्यवस्थापन गरिएको छ।
पक्राउ परेका चालक शिवाकोटीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपंक्षीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।