
स्याङ्जा, २०८२ भदौ ११ - अपहरण तथा शरीर बन्धक कसुर मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अप्रेसन टोलीले स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका–५ का ३८ वर्षीय ठाकूर बि.क.लाई कास्कीको पोखरा, छोरेपाटनबाट पक्राउ गरेको हो।
उच्च अदालत पोखराले २०७० चैत १८ गतेको फैसलामा बि.क.लाई अपहरण तथा शरीर बन्धक कसुरमा २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। सम्मानित अदालतको उक्त फैसलापछि उनी फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन चलाएको विशेष अभियानअन्तर्गत बि.क.लाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका बि.क.लाई कैद भुक्तान र जरिवाना असुलका लागि मंगलबार स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको छ।