Syangja Update Communication
मोटरसाइकलको विवादले लियो ज्यान, ८ जना पक्राउ


स्याङ्जा: स्याङ्जाको वालिङमा मोटरसाइकलको चर्को आवाजका कारण भएको विवादले ज्यान लिएको छ। ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, भदौ ७ गते राति करिब ११ बजे वालिङ नगरपालिका–५, जर्कोटमा मोटरसाइकलको चर्को आवाजलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि झडप भएको र बाहुनडाँडाका ३२ वर्षीय ढाल बहादुर थापामाथि कुटपिट भएको थियो। गम्भीर घाइते थापालाई तत्कालै पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा भदौ ८ गते बिहान उनको मृत्यु भएको थियो।
घटनाको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय, वालिङ प्रहरी र मातहतको विशेष टोलीले कुटपिटमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा
 * सिजन थापा, २२, हरिनास गाउँपालिका–५
 * अनिल शाही ठकुरी, २४, चापाकोट नगरपालिका–५
 * बिवेक मानन्धर, २०, हरिनास गाउँपालिका–५
 * बादल बि.क., १८, चापाकोट नगरपालिका–५
 * गोरे भन्ने गुरु प्रसाद लम्साल, २३, हरिनास गाउँपालिका–५
 * आर्यन क्षेत्री, १७, हरिनास गाउँपालिका–५
 * विश्वास वाग्ले, २३, हरिनास गाउँपालिका–५
 * निशान थापा, २२, हरिनास गाउँपालिका–६
प्रहरीले पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक कारबाही अगाडि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update