Syangja Update Communication
पर्वतमा रविको पक्षमा हस्ताक्षर गराउँदै हिडेका तीन जना युवा कुटिए

पर्वतको विहादी गाउँपालिकामा रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर गराउँदै हिँडेका तीन जना युवाहरु कुटपिटमा परेका छन् । आइतबार राति विहादी गाउँपालिका–४, हस्पिटलडाँडामा एमाले निकट मानिने युवाको समुहले उनीहरुलाई निर्घात कुटपिट गरेको आरोप छ ।

कुटपिटमा पर्नेहरु मध्ये बिमल परियार, रजिन परियार, नेत्र भुसाल रहेका छन् । घाईते बिमलको टाउकोमा तीन, देब्रे आँखामा दुई, ओँठमा दुई वटा टाँका लगाएको छ । अर्का घाईते रजिनको टाउकोमा दुई वटा टाँका लगाएको छ भने हातमा चोट चोट लागेको छ । नेत्र भुसाल भने सामान्य घाइते भएका छन् । घाईतेहरुको जिम्माा अहिले सम्म कसैले गरेको छैन । उनीहरु पीडित आफ्नै खर्चमा उपचार गराइरहेका छन् ।

घाइतेहरुको हुवास स्थित मञ्जली मेडिकलमा उपचार भइरहेको छ । बढी चोट लागेका बिमल थप उपचारको लागि बुटवल जाँदै छन् । बिमलले आफूसँग थप उपचार गर्ने पैसा समेत नभएको बताए । रास्वपाा विहादी गाउँपालिकाका सभापति शुसिल गिरीले पीडितको न्याय र दोषीलाई कारबाहीको दायरामा ल्याउन आफूहरुले घटनाको सन्दर्भमा प्रहरीमा उजुरी दिएको बताए ।

‘हामी रविमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर कार्यक्रम गरेर बाटोमा फर्कँदै थियौँ, लिङ्सीङका दुर्गा भुसालदाईसहित तीन जना बाइकबाट ओर्लिएर घण्टी पार्टीमा किन गएको भन्दै हामीलाई हेलमेटैहेलमेटले हाने’, बिमलले भने, ‘चुपचाप आफ्नो बाटोममा हिँडेका हामीहरुलाई जाँडको तालमा हानियो । हामीमाथि अन्याय भयो ।’

उनले कुटपिटमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखे । बिमलले आफूहरुले लगाएको रास्वपाको घण्टी अंकित निलो रङ्गको टिसर्ट जबरजस्ती खोली जलाउने प्रयास समेत भरेको बताए ।

प्रकाशित मिति: आइतबार, साउन १९, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update