मिति: २०८२ चैत्र ६
स्थान: वालिङ, स्याङ्जा
स्थानीय विकास र संस्कृति संरक्षणमा अहोरात्र खटिने युवाहरूको मनोबल गिराउने गरी वालिङ नगरपालिका वडा नं. १३ ले हालै जारी गरेको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त विज्ञप्ति केवल भ्रामक र आधारहीन मात्र छैन, बरु यो युवाहरूको श्रममाथि गरिएको एउटा निकृष्ट प्रहार हो। सत्यलाई बङ्ग्याएर र अरूको मिहिनेतलाई आफ्नो नाममा पारेर जस लिन खोज्नु स्थानीय सरकारको गरिमा विपरीतको कार्य हो।
यस सन्दर्भमा हामी निम्न बुँदाहरू मार्फत सत्य तथ्य सार्वजनिक गर्न र वडा कार्यालयलाई सचेत गराउन चाहन्छौं:
१. भौगोलिक र तथ्यगत त्रुटिको पराकाष्ठा
गत वर्ष सम्पन्न भएको दशैं मेला वडा नं. १३ मा होइन, स्पष्ट रूपमा वडा नं. ९ को भूगोलभित्र आयोजना गरिएको थियो। अर्कैको वडामा भएको कार्यक्रमलाई आफ्नो वडाको कार्यक्रम भनेर दाबी गर्दै विज्ञप्ति निकाल्नुले वडा कार्यालयको जिम्मेवार व्यक्तिको बौद्धिक टाटपल्टाई र गैरजिम्मेवारीपनलाई उदाङ्गो पारेको छ। आफ्नै सिमाना नचिन्नेले विकासको नेतृत्व कसरी गर्छन्? यो आफैमा उदेकलाग्दो प्रश्न हो।
२. 'क्रेडिट' हडप्ने प्रवृति र युवाहरूको अपमान
उक्त मेला कुनै एउटा वडा वा क्लबको एकल प्रयासले मात्र सफल भएको थिएन। सीमित स्रोत र साधनका बावजुद दर्जनौं ऊर्जावान युवाहरूले आफ्नो रगत-पसिना एक गरेर, रातदिन नभनी उक्त मेलालाई सफल बनाएका थिए। आज ती तमाम युवाहरूको योगदानलाई अपमानित गर्दै, सीमित घेराभित्रको सफलता देखाउन खोज्नु र 'क्रेडिट' लिन मरिहत्ते गर्नु लज्जास्पद छ।
३. निराधार आरोप र चरित्र हत्याको प्रयास
मिहिनेत गर्ने युवाहरूमाथि “पैसा उठाएको” जस्ता तल्लो स्तरका र निराधार आरोप लगाएर उनीहरूलाई समाजमा बदनाम गर्ने जुन दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ। मेलामा योगदान पुर्याउने हातहरूलाई सम्मान गर्नुको साटो, उनीहरूको मनोबल गिराउने गरी भ्रम छर्नु कुनै पनि हालतमा स्वीकार्य छैन। युवाहरूलाई फसाउने यो षडयन्त्रको हामी कडा शब्दमा भत्र्सना गर्दछौं।
४. काम गर्नेको खुट्टा तान्ने संस्कारको अन्त्य होस्
यदि मेला र संस्कृतिको यति धेरै माया थियो भने, आयोजनाको समयमा जिम्मेवारी लिएर अगाडि किन नआएको? कार्यक्रम सकिएपछि केवल मञ्चमा उभिएर फोटो खिचाएकै भरमा सम्पूर्ण सफलताको हकदार बन्न खोज्ने 'स्टेज केन्द्रित' प्रवृत्ति अब चल्ने छैन। विज्ञप्तिबाट अरूको पसिना मेट्ने प्रयास गर्नु कायरता हो।
हाम्रो माग र चेतावनी
वडा नं. १३ को कार्यालय र सम्बन्धित पक्षलाई हामी यसै विज्ञप्ति मार्फत सचेत गराउँदछौं कि:
- तत्काल उक्त भ्रामक र झुटो विज्ञप्ति फिर्ता लिइयोस्।
- तथ्य बङ्ग्याएर युवाहरूको अपमान गरेकोमा सार्वजनिक रूपमा माफी मागियोस्।
- आगामी दिनमा अरूको मिहिनेतमाथि आफ्नो 'स्टिकर' टाँस्ने काम बन्द गरियोस्।
यदि यी मागहरूलाई बेवास्ता गरिएमा हामी तथ्य र प्रमाणसहित जनताको अदालतमा जानेछौं र यस विरुद्ध सशक्त आन्दोलन र प्रतिवाद गर्न बाध्य हुनेछौं। सत्यलाई भ्रमले छोप्न सकिँदैन, र युवाहरूको मिहिनेतलाई कसैको विज्ञप्तिले मेट्न सक्दैन।
सत्यको जय होस्, युवा एकता जिन्दावाद !


