Syangja Update Communication
वडा अध्यक्ष खनाल अदालत हाजिर १ लाख धरौटी, व्यवसायी अर्याल र मजदुर राइविच सहमति

वडा अध्यक्ष खनाल अदालत हाजिर १ लाख धरौटी,व्यवसायी अर्याल र मजदुर राइविच सहमति 
अकला संवाददाता
गत असार ३ गते वालिङमा भएको घटनाको बिषयमा कुटपिटको आरोपपछि सम्पर्कमा नभएका वालिङ् नगरपालिका वडा १० का अध्यक्ष एवम् काङ्ग्रेस नेता सुनिल खनाल अदालत हाजिर भएका छन् । अदालतले खनाललाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
ज्यान मार्ने उधोगमा चलिरहेका मुद्दामा खनाललाई अदालतले १ लाख धरौटीमा छाड्न आदेश दिएको हो । ज्यान मार्ने उधोगमा आवश्यक घटनाक्रम नदेखिएको संकेत गरेको छ । धारिलो हतियार प्रयोग गरि कुटपिट नगरेको,आक्रमणबाट शरीर रगताम्य नभएको,आक्रमणमा शरिरमा गहिरो चोट नदेखिएको घटनाहरुको हकमा धरौटीमा छाडेका हुनसक्ने बुझिएको स्रोतले बताएको छ ।
यद्यपि कानुनी प्रक्रिया भने यथावत रहेको देखिन्छ । असार ३ गते वालिङ् ९ स्थिति आधींखोला किनारमा दिउँसो भएको भनाभन र परिस्थितिको उपजको रुपमा घटना घटेको कतिपयले विश्लेषण गरेका छन् भने कार्यक्रम गर्ने पक्षले योजनाबद्ध ढंगले कुटपिट गरेर ज्यान लिन खोजेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएका थिए ।
कुटपिट घटनामा संलग्न नभएका भनिएका साजन पंगेनी विरुद्ध  जबर्जस्ती निवेदन दर्ता गराएर पक्राउ गर्न बाध्य पारिएको समेत कतिपयले दाबी गरेका छन् । यद्यपि पंगेनीलाइ अदालतले केही दिन अगाडि रिहाइ गरेको थियोे ।

यता आफ्नै घरमा बसेका मजदुरलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा नेता एवम् व्यवसायी प्रकाश अर्याल र कुटपिटबाट घाइते भएका भनिएका राजकुमार राईहरु विच सहमति गरिएको बुझिएको छ ।
यद्यपि अर्याल पक्षले भने मजदुरहरुको अश्लील र अपशब्द प्रयोग गरेपछि घटना घटेको दाबी गरेको थियो ।
घाइते राइको उपचार खर्च अर्यालले गर्ने गरि उपचार खर्च उपलब्ध गराएपछि राई र अर्याल विच सहमति भएको हो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update