वालिङ, स्याङ्जा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले आफूमाथि देखाएको अभूतपूर्व विश्वास र मायालाई व्यक्तिगत स्वार्थमा नभई देश निर्माणको 'राष्ट्रिय सम्पत्ति' बनाउने उद्घोष गर्नुभएको छ। स्याङ्जा क्षेत्र नम्बर २ को वालिङमा आयोजित विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताउनुभएको हो।
सम्बोधनका क्रममा सभापति लामिछानेले आफू परम्परागत शैलीमा भोट माग्न मात्र नभई जनताको भावना बुझ्न आएको स्पष्ट पार्नुभयो। "म व्यक्तिका लागि राज्यले अन्याय गर्दा तपाईंहरूले आँसु बगाउनुभएको छ," भावुक हुँदै उहाँले भन्नुभयो, "तपाईंहरूले दिनुभएको यो साथ र शक्तिको बदला म देशको हितका लागि काम गरेर तिर्नेछु।" उहाँले आफ्नो राजनीतिक यात्रामा कैयौँ उतारचढाव आए पनि कसैसँग नझुकेको र जनताकै बलमा 'आँखामा आँखा जुधाएर' कुरा गर्न सक्ने आँट आएको बताउनुभयो।
स्थानीय समस्यामा केन्द्रित हुँदै लामिछानेले सिद्धार्थ राजमार्गको दयनीय अवस्थाप्रति आक्रोश व्यक्त गर्नुभयो। "यो राजमार्ग कहिलेदेखि बनेको? अहिलेसम्म यसले किन न्याय पाएन? किन स्तरउन्नति भएन?" भन्दै उहाँले प्रश्न गर्नुभयो। पुराना दलका नेताहरू अझै नअघाएको आरोप लगाउँदै उहाँले अब उनीहरूको आशा गरेर बस्नुको अर्थ नभएको जिकिर गर्नुभयो।
स्याङ्जा २ का उम्मेदवार झविलाललाई आफ्नो 'प्यारो भाइ' र यो क्षेत्रले खोजेको योग्य पात्रका रूपमा चिनाउँदै लामिछानेले भन्नुभयो, "म उहाँलाई तपाईंहरू माझ अग्रिम बुकिङ गर्न आएको हुँ। यसपटक हामीले इतिहास लेख्ने हो, भोट मात्र हाल्ने होइन।"
स्थायी सरकार र 'घण्टी' को चेतावनी
रास्वपा अहिले सबैभन्दा बढी युवा, महिला र विज्ञ इन्जिनियरहरू आवद्ध भएको पार्टी बनेको दाबी गर्दै लामिछानेले देश विकासका लागि पाँच वर्षको स्थायी सरकारको माग गर्नुभयो। उहाँले भन्नुभयो:
"हामी ३५ वर्षसम्म यिनीहरूले केही नगरेपछि बाध्य भएर निस्केका हौँ। हामीलाई जेल-नेल खाने रहर थिएन, तर दुःख गरेपछि देश बन्छ भन्ने थाहा छ। हामीलाई एकपटक स्थायी सरकार दिनुहोस्। यदि हामीले केही गर्न सकेनौँ भने जुन घण्टी बजाउँदै तपाईंहरू सडकमा निस्कनुभएको छ, त्यही घण्टीले हामीलाई नै बजाउनुहोला।"
मुख्य प्रतिवद्धताहरू:
भ्रष्टाचार मुक्त देश: पुराना दललाई बिदाइ गर्दै देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेल्ने वाचा।
बेथिति विरुद्धको लडाइँ: कुनै दलको विरोध भन्दा पनि प्रणालीमा रहेका विसंगति र बेथिति विरुद्धको साझा अभियान।
युवाको नेतृत्व: 'जेन्जी' युवाहरू र विज्ञहरूको शक्तिका माध्यमबाट मुलुकको रूपान्तरण।
अटुट भरोसा: जनताको आशा र भरोसाको दियोलाई कहिल्यै निभ्न नदिने संकल्प।
सभापति लामिछानेले अन्त्यमा जनतालाई सचेत रहन आग्रह गर्दै यसपटकको निर्वाचन परिवर्तनको संवाहक बन्ने विश्वास व्यक्त गर्नुभयो।


