वालिङ, स्याङ्जा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपधेरामा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएपछि भएको झै-झगडामा तीन जना घाइते भएका छन्।
शनिबार राति करिब ००:१० बजे वालिङबाट बयरघारीतर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ५३४२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएका थिए। दुर्घटनालगत्तै दुवै पक्षबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।
घाइते र उपचारको अवस्था:
झगडामा घाइते भएका ३० वर्षीय खान वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। अन्य दुई घाइतेहरू ३२ वर्षीय श्रेष्ठ (टाउकोमा चोट) र ४० वर्षीय सेन ठकुरी (मुखमा चोट) लाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज (GMC) र गण्डकी अस्पताल रिफर गरिएको छ।
घटनाको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार दुर्घटना र झै-झगडाको विषयमा थप अनुसन्धान भइरहेको छ।
तस्बिर -फोटो सांकेतिक राखिएको !


