Syangja Update Communication
जनताका पदयात्री, नेताका आकाशयात्री : वनभोज खान 'आकाशे गाडा' चढेर सिरहा पुगे मुख्यमन्त्री

वनभोजको बाफ र आकाशे राजनीतिको राप

​नेपाली उखान छ– ‘मरेपछि डुमै राजा’! तर हाम्रा माननीयज्यूहरूले यसलाई अलिकति परिमार्जन गरेर ‘सत्ता पाएपछि हुइँइक्याएका छौँ आकाशे गाडा’ बनाइदिनुभएको छ। प्रसङ्ग हो, बाग्मती प्रदेशका मुख्यमन्त्रीज्यूको ‘सिरहा सयर’।
​बाग्मतीको कार्यभार सम्हाल्ने काँधमा मधेसको वनभोजको हुटहुटी यसरी सवार भयो कि, हेटौंडाबाट सिरहाको दूरी छिचोल्न उहाँलाई सडकका खाल्डाखुल्डी होइन, सिधै बादलका टापुहरू प्यारो लागे। आखिर वनभोजको मासु र च्यूराको स्वाद लिन पनि 'भीआईपी' नसा चाहिन्छ नै, जुन हेलिकप्टरको पंखाले दिने चिसो हावा विना सम्भव थिएन होला।
​हेलिकप्टर: विकासको नयाँ मोडल?
​सिरहाका ती निमुखा जनता, जो वर्षौँदेखि सिँचाइ र मलको पर्खाइमा आकाशतिर हेर्थे, उनीहरूले यसपालि अचम्मैको 'विकास' देखे। माथिबाट पानी बर्सिएन, तर सत्ताको तुजुक बोकेको हेलिकप्टर भने मज्जाले बर्सियो। जनताले नजिकैबाट पंखा घुमेको हेर्न पाए, धुलो खान पाए र धन्य भए— ‘आहा! सरकार त साँच्चै आकाशमै रहेछ!’
​दूरी र सास्ती: हेटौंडाबाट सिरहा पुग्न गाडीमा जाँदा कम्मर मर्किने डर थियो कि? कतै बाटोमा जनताले आफ्ना दुःखका फेहरिस्त सुनाएर वनभोजको मुड बिगार्ने पो हुन् कि भन्ने त्रास हो?
​ राज्यको ढुकुटीमा जम्मा भएको सर्वसाधारणको रगत-पसिनाको कर 'पिकनिक' को धुलो उडाउन खर्च हुनु नै त संघीयताको वास्तविक 'फल' हो!
​बाग्मतीको 'माया': बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई सिरहाको वनभोजले तानेको देख्दा लाग्छ— उहाँको कार्यक्षेत्र सातै प्रदेश र आकाशसम्मै फैलिएको छ।
​मुख्यमन्त्रीज्यूलाई वनभोजको धेरै-धेरै शुभकामना! अर्को पटक वनभोज खान जाँदा सम्भव भए रकेट नै चार्टर गर्नुहोला, ताकि जनताले तारा नै झरेको देख्न पाउन्। भुइँका मान्छेको मतले आकाशमा उड्ने लाइसेन्स पाएपछि किन भुइँमा खुट्टा टेक्नु र? आखिर वनभोजको धुवाँभन्दा सत्ताको नसा बढी कडा हुन्छ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update