Syangja Update Communication
वैकल्पिक राजनीतिको नयाँ मोड: रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे 'बृहत् एकता'को सहमति


   स्याङ्जा , १३ पुस ।

       नेपालको राजनीतिमा दुई प्रभावशाली युवा व्यक्तित्वहरू—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच 'बृहत् एकता'को ऐतिहासिक सहमति भएको छ। आइतबार काठमाडौँमा एक समझदारी पत्रमा हस्ताक्षर गर्दै उनीहरूले नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन्।
बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
यस सहमतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आगामी प्रतिनिधिसभा निर्वाचनपछिको शक्ति बाँडफाँट हो। सम्झौताको चौथो बुँदामा उल्लेख भए अनुसार, पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै कायम रहनेछन् भने आगामी निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन्।
७ बुँदे सहमतिका मुख्य बुँदाहरू:
१. भ्रष्टाचार विरुद्धको साझा मोर्चा: भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनलाई स्वामित्व लिँदै सहिद तथा घाइते परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता।
२. आर्थिक लक्ष्य: आगामी १० वर्षभित्र नेपाललाई मध्यम-आय भएको मुलुक बनाउने गरी आर्थिक-सामाजिक मार्गचित्रको कार्यान्वयन गर्ने।
३. पार्टीको नाम र चिह्न: एकता पश्चात पनि पार्टीको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' नै रहनेछ भने चुनाव चिह्न 'घण्टी' र झन्डा साविककै कायम हुनेछ।
४. संगठनात्मक सुधार: पार्टी संरचनामा युवा अभियन्ता र विज्ञहरूलाई योग्यता र क्षमताका आधारमा उचित स्थान दिइने।
५. निर्वाचन आयोगमा दर्ता: यो सहमति अनुसारका कागजातहरू तत्काल निर्वाचन आयोगमा अध्यावधिक गरिने।
६. वैकल्पिक शक्तिलाई आह्वान: रास्वपाको झन्डा र चुनाव चिह्नमा गोलबद्ध हुन अन्य वैकल्पिक राजनीतिक शक्ति र व्यक्तिहरूलाई अपिल गरिएको छ।
एकीकृत शक्ति निर्माणको लक्ष्य
सहमतिको प्रस्तावनामा भनिएको छ, "समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न यो सहमति गरिएको हो।" जेठ-जी आन्दोलन लगायत विभिन्न कालखण्डका बलिदानीलाई स्मरण गर्दै दुवै नेताले सुसंस्कृत राजनीतिको जग बसाल्ने प्रतिबद्धता जनाएका छन्।
यो एकतासँगै नेपालको वैकल्पिक राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। लामो समयदेखि बालेन र रास्वपाबीच सहकार्य हुनुपर्ने जनस्तरको दबाबलाई यस सहमतिले मूर्त रूप दिएको देखिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update