Syangja Update Communication
एकल महिलाको जग्गा वडा अध्यक्षले षड्यन्त्रपुर्वक हडपेको भन्दै स्थानीयको विरोध,लिखित उजुरी दर्ता


स्याङ्जा अपडेट संवाददाता 

      स्याङ्जाको गल्याङ नगरपालिका वडा ४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले स्थानीय ८८ बर्षिय वृद्ध महिला धन कुमारी न्यौपानेको जग्गा आफ्नो नाममा षड्यन्त्रपुर्वक पास गरेको भन्दै स्थानीयले खबरदारी सहित सरोकारवाला निकायमा निवेदन दिएका छन् ।
साविक निबुवाखर्क ७ हालको गल्याङ नगरपालिका वडा नम्बर ४ मा रहेको पुर्व प्रधानपञ्च दामोदर न्यौपानेको श्रीमतीको नाममा रहेको जग्गा उनकी श्रीमतीले वडा कार्यलय सहित राधाकृष्ण धाम बनाउने भन्दै नगरपालिकाको नाममा जग्गा दिन राजी भईन् । दिंवगत श्रीमानले मन्दिर बनाउने चाहाना राखेको र उहाँको मृत्यु भईसकेपछि उहाँको सपना पूरा गर्न ८८ बर्षिय एकल महिला न्यौपानेले वडा अध्यक्षलाई भरोसा गरिन । वडा अध्यक्षले पनि जग्गा दिनुस्,मन्दिर बनाउन मैले बजेट व्यवस्थापन गर्छु, भनेर विश्वास दिलाए । परिवारमा कोही नभएको र आफ्नो सेखपछी समेत सम्पत्ति लिने मान्छे नदेखेपछि धनकुमारीले मन्दिर र वडा कार्यलय बनाउन वडाका नाममा जग्गा दिन तयार भईन् ।  सोही अनुसार धनकुमारीलाई मालपोत लगियो । त्यहा नै केही रोपनी जग्गा वडाका नाममा बनाईयो,भने केही रोपनी जग्गा वडा अध्यक्ष न्यौपानेले आफ्नो नाममा बनाए । मालपोत कार्यलयका अनुसार २०७९ पुस २४ गते  कित्ता ४६ बाट  २ रोपनी ३ आना १ पैसा क्षेत्रफलको जग्गा वडा अध्यक्ष ढाकाराम न्यौपानेको नाममा पास भएको देखिन्छ । भने कित्ता नम्बर ५५ बाट १ रोपनी ९ आना २ पैसा क्षेत्रफल जग्गा गल्याङ नगरपालिकाको नाममा पास गरेको देखिन्छ । स्रोतका अनुसार जग्गा पास भएको ४ बर्ष पूरा हुदा समेत मन्दिर तथा वडा कार्यलय बनेको छैन् । यता वडा अध्यक्ष न्यौपानेको अनुसार केही विकास विरोधीहरुले आफ्ना विरुद्ध षड्यन्त्र र बदनाम गरेको दाबी गरेका छन् । अध्यक्ष न्यौपानेले जग्गा आफ्नो नाममा ल्याएको स्विकार्दै केही समय अगाडि ऋण दिएको र त्यो असुली गर्न केही जग्गा आफ्नो नाममा गराएको जिकिर गरे ।
अध्यक्ष न्यौपानेले मैले वडामा पुर्वाधारका क्षेत्रमा सकारात्मक र महत्त्वपूर्ण काम गर्न लागेको देखेपछि विकास विरोधीहरुले अनावश्यक षड्यन्त्र र तानाबाना बुनेर मलाई अफ्ट्यारो पार्न खोजेको बताए । यस्तै धनकुमारीका वास्तविक हकवाला देवी प्रसाद न्यौपानेले भने वडा अध्यक्षले मनपरि गर्दै सम्पत्ति  हत्याएको दाबी गरेका छन् । न्यौपाने सहितको एउटा समुह उक्त बिषयमा छानबिन माग गर्दै उजुरी लिएर जिल्ला प्रशासन कार्यलय स्याङ्जा देखि नगर प्रमुख गुरु प्रसाद भट्टराई समक्ष समेत पुगेका छन् । 
धनकुमारीका जेठाजुका छोरा तथा पारिवारिक हकवाला देवीप्रसादका अनुसार आफूहरूलाई कुनै जानकारी नगरी सम्पत्ति हडपेको बताए । उनलेे भने, कहाँ जान पर्छ जान्छु तर सम्पत्ति जबर्जस्ती जफत हुन दिन्न । देवीप्रसाद  न्यौपानेको अनुसार प्रधान बुबाको केही तोला सुन र सुनको कचौरा समेत बेपत्ता पारिएको दाबी गरेका छन् ।
यद्यपि यो प्रकृतिको गम्भीर मुद्दामा सरोकारवाला निकायले निष्पक्ष छानबिन गरि दोषी उपर कडा कारबाही गर्न सबैले जोड् दिएका छन् । भने वडा अध्यक्ष निर्दोष हुन भने पनि राजनीतिक कोपभाजनमा नपारी निष्पक्ष फैसला हुनुपर्नेमा जोड दिएको छ भने कतिपयले वडा मुकाम कहाँ राख्ने भन्ने विवादले समेत बिषयलाई धकेल्न खोजिएको
टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update