वालिङ, स्याङ्जा, मङ्सिर २७।
स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रमा आज बिहानै एक यात्रुवाहक बस दुर्घटना हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। धनगढीबाट पोखरातर्फ गइरहेको 'भ्रमण बस' अनियन्त्रित भई सडक किनारमा रहेको बत्तीको पोलमा ठोक्किन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, बिहान करिब ३:५५ बजे सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ न.पा. ८, जैँसीपधेरा स्थित सडक खण्डमा सुदुरपश्चिम प्रदेश ०१००१ ख ३३५२ नम्बरको बस दुर्घटनामा परेको थियो।
बसमा चालक र सहचालक सहित कूल ५८ जना यात्रु सवार रहेका थिए। दुर्घटनापश्चात् ५७ जना यात्रुहरू सकुशल रहेको जानकारी आएको छ। दुर्घटनाको मुख्य कारण बस आफैँ अनियन्त्रित हुनु रहेको प्रारम्भिक अनुमान छ। बस बत्तीको पोलमा ठोक्किएपछि थप क्षति हुनबाट भने जोगिएको हो।
यसैगरी, सोही राजमार्गको राम्दी खण्डमा पनि एक भारतीय नम्बर प्लेटको गाडी दुर्घटना भएको जानकारी प्राप्त भएको छ। यी लगातारका घटनासँगै सिद्धार्थ राजमार्गमा दुर्घटनाको जोखिम अत्यधिक बढेको पाइएको छ।
रात्री तथा बिहानीपखको समयमा सवारी चलाउँदा चालकहरूले उच्च सावधानी अपनाउनुपर्ने र ट्राफिक व्यवस्थापनमा थप कडाइ गरिनुपर्ने आवश्यकता देखिएको छ।


