स्याङ्जा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जा जिल्ला कार्यसमिति यही मङ्सिर २७ गते शनिबार जिल्ला भेलाबाट एक महत्त्वपूर्ण समूह ‘र्यापिड एक्सन टिम’ (Rapid Action Team - RAT) गठन गर्ने भएको छ।
जिल्लाको एक महत्त्वपूर्ण विभागको रूपमा रहने यो टिमलाई विशेष गरेर जेन जी (Gen Z) युवाहरूलाई प्राथमिकतामा राखेर निर्माण गरिने बताइएको छ। टिमको मुख्य उद्देश्य दैविक प्रकोपहरू जस्तै बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक विपद्का साथै मानवीय सेवा तथा सामाजिक कार्यहरूमा द्रुत रूपमा सहयोग गर्ने रहेको छ।
रास्वपाका केन्द्रीय सदस्य झविलाल डुम्रेले जानकारी दिँदै यो टिम जिल्लाभर कुनै पनि अप्ठ्यारो परिस्थितिमा तुरुन्तै परिचालन हुन सक्ने क्षमतासहित तयार पारिने बताउनुभयो। "युवाहरूको जोस र जाँगरलाई सामाजिक सेवामा उपयोग गर्दै, हामी स्याङ्जा जिल्लामा विपद्को समयमा भरपर्दो सहयोगीको भूमिका निर्वाह गर्न चाहन्छौँ," उहाँले भन्नुभयो।
युवाहरूको सशक्त सहभागिताले टिमलाई ऊर्जाशील बनाउने र यसले जिल्लाको सामाजिक तथा मानवीय सेवा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। मङ्सिर २७ गतेको जिल्ला भेलाबाट नै यो टिमको औपचारिक घोषणा तथा परिचालन प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।


