वालिङ, स्याङ्जा।
स्याङ्जाको हरिनास गाउँपालिकामा पालिका अध्यक्षले नै सरकारी जंगलको दोहन गरी अवैध रुपमा ढुङ्गा उत्खनन गराएको भन्दै स्थानीयहरूले गम्भीर आरोप लगाएका छन्।
हरिनास गाउँपालिकाको सरकारी वन क्षेत्रमा केही समयदेखि ठूलो मात्रामा ढुङ्गा उत्खनन भइरहेको पाइएको थियो। उत्खननमा संलग्न पक्षले नियम कानुनको बेवास्ता गर्नुका साथै राज्यलाई बुझाउनुपर्ने राजस्व (रोयल्टी) समेत नबुझाएको स्थानीयको भनाइ छ।
स्थानीय बासिन्दाहरूले सार्वजनिक रुपमै गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले नै उत्खनन कार्यमा सहयोग पुर्याएको र राजस्व छली गरी अवैध रुपमा ढुङ्गा निकाल्न लगाएको आरोप लगाएका छन्। निर्वाचित जनप्रतिनिधिले नै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न प्रोत्साहन गरेको भन्दै स्थानीय आक्रोशित छन्।
घटना बाहिरिएपछि र गैरकानुनी उत्खनन भइरहेको पुष्टि भएपछि डिभिजन वन कार्यालय, स्याङ्जाले उक्त उत्खनन स्थलमा तत्काल रोक लगाएको छ। वन कार्यालयले अब वन ऐन तथा नियम अनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयले राखेका छन्।


