मंसिर १९ गल्याङ
“स्वस्थ माटो, स्वस्थ गाउँसहर (Healthy soils for healthy cities)” भन्ने नारासहित गण्डकी प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि तथा जमीन व्यवस्था निर्देशनालय, कृषि विकास कार्यालय स्याङ्जा तथा गल्याङ नगरपालिकाको संयुक्त आयोजनामा १२ औँ विश्व माटो दिवस २०८२ गल्याङ नगरपालिकामा विविध कार्यक्रम सहित सम्पन्न गरिएको छ । IDE Foundation, ASK Nepal तथा गण्डकी प्रदेश कृषि प्रयोगशालाको सक्रिय समन्वय र सहयोगमा सम्पन्न कार्यक्रममा माटो स्वास्थ्य, दिगो कृषि तथा जैविक खेती प्रवर्द्धनबारे सरोकारवाला बीच विस्तृत अन्तरक्रिया गरिएको थियो । गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेको प्रमुख आतिथ्यतामा तथा गल्याङ–११ का वडा अध्यक्ष दल बहादुर सिंजालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ASK Nepal का कार्यकारी निर्देशक हरि ढकालले स्वागत मन्तव्य दिँदै माटो संरक्षणलाई समुदाय केन्द्रित अभियानका रूपमा विस्तार गर्न यस्ता कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा कृषि विकास कार्यालय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश बस्ताकोटीले माटोको दिगो व्यवस्थापन, प्राङ्गारिक खेती, प्रविधि र औजारको सही उपयोग तथा स्थलगत अभ्यास बारे जानकारी दिनुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश कृषि प्रयोगशाला, पोखराका बाली संरक्षण अधिकृत प्रकाश बस्नेतले माटो परीक्षण विधि, प्रयोगशालाको योगदान तथा भविष्यका सम्भावनाबारे प्रशिक्षण दिनुभएको थियो । त्यस्तै राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यक्रम एकाइ स्याङ्जाका प्रमुख अजय अधिकारीले आधुनिकीकरण परियोजनाले स्याङ्जामा लागू गरिरहेका प्रविधि केन्द्रित कार्यक्रम, किसानमित्र योजनाहरू तथा माटो दिवसको महत्वबारे जानकारी दिनुभएको थियो । त्यस्तै गल्याङ नगरपालिका ११ का वडा अध्यक्ष दल बहादुर सिंजालीले सहभागी संस्था, विद्यार्थी, प्राविधिक तथा सरोकारवाला प्रति आभार व्यक्त गर्दै माटो संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राखी आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्तरक्रिया सत्रमा सहभागी किसान, प्राविधिक तथा सरोकारवालाबीच माटो परीक्षण विस्तार, जैविक मल प्रयोग, रोग कीरा व्यवस्थापन, किसानमैत्री प्रविधि तथा दिगो कृषि रणनीतिबारे सुझाव आदान प्रदान भएको थियो । उक्त कार्यक्रममा गल्याङ नगरपालिका १ का अध्यक्ष मणि बस्याल, २ का अशोक थापा, ७ का झविलाल पाण्डे, ८ का झिम बहादुर थापा, १० का मुक्ती खनाल, शुभबिहानी बहुउद्देश्यीय सहकारीका अध्यक्ष बोला पाठक, कृषि प्राविधिक, स्थानीय प्रतिनिधि तथा गल्कोट माध्यमिक विद्यालय, भानुभक्त आचार्य माध्यमिक विद्यालय र चिराग माध्यमिक विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन आक्स नेपालका छवि भट्टराईले गर्नुभएको थियो । यसैबीच आजै वालिङ–८ त्रियासीमा पनि माटो परीक्षण शिविर सम्पन्न गरिएको छ । दुवै कार्यक्रमका सहभागीहरूलाई ट्राइको गँड्यौली मल वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।


