Syangja Update Communication
मणि गैरेद्वारा पार्टीको झण्डा जलाएर एमाले परित्यागको घोषणा

 

वालिङ, वालिङ १३, वालिङ नगरपालिका वडा नम्बर १३ का नेकपा एमालेका स्थानीय नेता मणि गैरेले पार्टीको झण्डा जलाएर एमाले परित्याग गरेको घोषणा गरेका छन्। एक सन्देश जारी गर्दै उनले पार्टीको पछिल्लो गतिविधि र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सो कदम चालेको बताएका छन्।

गैरेले पार्टीभित्र निष्ठा र सिद्धान्तको खडेरी परेको र नेताहरू व्यक्तिगत स्वार्थमा लिप्त भएको आरोप लगाएका छन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनेको र कार्यकर्ताको भावनाको कदर हुन छोडेको भन्दै उनले आफू अब एमालेमा बस्न नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

उनले झण्डा जलाएको घटनालाई आफ्नो असन्तुष्टि र आक्रोशको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। उनले जारी गरेको सन्देशमा भनिएको छ, "जसले कार्यकर्ताको पसिनाको मूल्य बुझ्न सक्दैन, त्यस्तो पार्टीमा रहनुको कुनै औचित्य छैन।" उनले भविष्यमा कुनै पनि राजनीतिक दलमा नलागी स्वतन्त्र भएर सामाजिक कार्यमा संलग्न हुने घोषणासमेत गरेका छन्।
गैरेले यसअघि पनि पार्टीभित्र विभिन्न विषयमा आफ्नो फरक मत राख्दै आएका थिए। उनको यो कदमले वालिङ क्षेत्रको एमाले राजनीतिमा तरंग ल्याएको छ। यस विषयमा एमाले वालिङले भने कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update