Syangja Update Communication
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको  निर्णय अपरिपक्व : पत्रकार महासंघ

स्याङ्जा  – नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई अपरिपक्व कदम भनेको छ। महासंघले यो निर्णय तत्काल सच्याउन सरकारसँग आग्रह गरेको छ।
महासचिव रामप्रसाद दाहालले सरकारको यो निर्णयले नागरिकको सूचना पाउने अधिकारमाथि हनन भएको बताएका छन्। उनले भने, “नागरिकले सूचना आदान प्रदानको अत्यधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो।”
उनले सामाजिक सञ्जालमा देखिएका समस्या समाधान गर्न सहजीकरणको बाटो अपनाउनुपर्नेमा सिधै बन्द गर्ने निर्णय गर्नु सरकारको अपरिपक्वता भएको धारणा राखे।
सरकारको निर्णय र महासंघको अडान
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेपछि पत्रकार महासंघको यो प्रतिक्रिया आएको हो।
महासंघले डिजिटल नेटवर्कको सुविधा बन्द गर्नुको सट्टा समस्या समाधानका अन्य उपाय खोज्न सरकारलाई सुझाव दिएको छ। महासचिव दाहालले भने, “डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन, सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्छ।”
यो निर्णयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनामा पहुँचलाई कुण्ठित गर्ने भन्दै महासंघले यसको सशक्त विरोध गर्ने जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update