Syangja Update Communication
विपक्षी दलबीच आन्दोलनको रणनीतिबारे छलफल

मिति: भदौ १०, २०८२
विपक्षी दलबीच आन्दोलनको रणनीतिबारे छलफल
काठमाडौं: विपक्षी राजनीतिक दलहरुले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउन नयाँ रणनीति तय गर्न छलफल सुरु गरेका छन्। यसै क्रममा भदौ ९ गते साँझ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादीका महासचिव विप्लवबीच करिब डेढ घण्टा लामो कुराकानी भएको छ।
ललितपुरको बखुन्डोलस्थित जनार्दन शर्माको निवासमा साँझ ६ बजेदेखि सुरु भएको यो छलफलमा विशेषगरी आन्दोलनलाई कसरी नयाँ स्वरूप दिने भन्नेबारे कुराकानी भएको बताइएको छ। एक माओवादी स्रोतका अनुसार, वर्तमान समयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसको एकाधिकार तथा केही नयाँ दल र स्वतन्त्र मेयरहरूको बढ्दो प्रभावका कारण युवा पुस्तामा देखिएको अन्योललाई सम्बोधन गर्न नयाँ रणनीति आवश्यक भएको निष्कर्षमा उनीहरू पुगेका छन्।
छलफलमा सहभागी नेताहरूले विपक्षी पार्टीहरूलाई अझ सशक्त बनाउने, नयाँ दलहरूसँग कसरी प्रतिस्पर्धा गर्ने, र युवा पुस्तामाझ पार्टीको पहुँच विस्तार गर्ने विषयमा गहन कुराकानी गरेका थिए। जनार्दन शर्मा निकट स्रोतका अनुसार, "भदौ ९ गतेको छलफलमा तीन जना नेताले आन्दोलनलाई नयाँ ढंगले कसरी अघि बढाउने भन्ने विषयमा विचार विमर्श गरेका छन्।"
यस छलफललाई विपक्षी गठबन्धनले आफ्नो आन्दोलनलाई नयाँ दिशा दिने प्रयासका रूपमा हेरिएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update