Syangja Update Communication
अवैध नदिजन्य पदार्थ उत्खनन्मा संलग्न ३ वटा ट्याक्टर र चालक पक्राउ


अवैध नदिजन्य पदार्थ उत्खनन्मा संलग्न ३ वटा ट्याक्टर र चालक पक्राउ
वालिङ, स्याङ्जा - स्याङ्जामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न ३ वटा ट्याक्टर र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङ र त्यस मातहतको विशेष टोलीले हिजो राति यो कारबाही गरेको हो।
विशेष टोलीले वालिङ नगरपालिका-१, ओडारेस्थित आँधिखोलाको किनारबाट २ वटा ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लियो। यसैगरी, भिरकोट नगरपालिका-४, बगरस्थित आँधिखोलाको किनारबाट थप १ वटा ट्याक्टर र त्यसका चालक पनि पक्राउ परेका छन्।
पक्राउ पर्ने चालकहरूमा बाँके, राप्ती सोनारी गाउँपालिका-७ का २४ वर्षीय सोभिराम थारु, बाँके, खजुरा गाउँपालिका-६ का ३२ वर्षीय बल बहादुर थारू, र पाल्पा, रम्बादेवी गाउँपालिका-२ का २९ वर्षीय दुर्गा बहादुर सिंजापती रहेका छन्। उनीहरूले चलाएको ट्याक्टरको नम्बरहरू क्रमशः ग.१ त. ४९४१, ग.१ त. ४४८९, र ग.१ त. ४९६० रहेको प्रहरीले जनाएको छ।
यस घटनापछि जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख लगायतको टोलीले भिरकोट नगरपालिकाका प्रमुख, पत्रकार तथा स्थानीयहरूको रोहवरमा अनुगमन गर्दा ठूलो मात्रामा अवैध बालुवा भण्डारण गरिएको पाइएको छ।
अनुगमनका क्रममा भिरकोट नगरपालिका-४, छाङछाङदी बगरमा ५६७.५ घनमिटर र भिरकोट नगरपालिका-४ तथा वालिङ नगरपालिका-११ मा १९७७.३५ घनमिटर गरी कुल २५४४.८५ घनमिटर अवैध बालुवा भेटिएको हो। प्रहरीले पक्राउ परेका व्यक्ति र सवारीसाधनलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि सम्बन्धित पालिकामार्फत अगाडि बढाएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update