Syangja Update Communication
वालिङ् डान्स नाममा वालिङमा ठगी धन्दा, प्रशासन मौन

वालिङ् डान्स  नाममा वालिङमा ठगी धन्दा, प्रशासन मौन।
वालिङ, स्याङ्जा:

वालिङ ‘डान्स’ नामक कार्यक्रमको आवरणमा ठगी धन्दा चलिरहेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। आयोजकले प्रतिभाको मूल्याङ्कनलाई पन्छाउँदै आर्थिक कारोबारलाई प्राथमिकतामा राखेको पाइएपछि यसको वैधानिकतामाथि प्रश्न उठेको हो।
कार्यक्रममा सहभागी प्रतिस्पर्धी विद्यार्थीहरूलाई उनीहरूले बेचेको टिकटको सङ्ख्याका आधारमा अङ्क दिने र धेरै टिकट बेच्नेलाई नै विजेता घोषणा गर्ने भन्दै आयोजकले प्रचारप्रसार गरेको बुझिएको छ। यसरी, प्रतिभाभन्दा पैसालाई प्राथमिकता दिइएको यो घटनाले अभिभावक र सरोकारवालाहरूमा चिन्ता बढाएको छ।
अवैध कारोबारको आरोप लगाउदै
एक सहभागीका आमाले नाम नखुलाउने शर्तमा बताउनुभयो, “आयोजकले मेरो छोरीलाई प्रथम बनाउनका लागि ६० हजार रुपैयाँ बराबरको टिकट किन्न दबाब दिएको थियो। पैसा तिरेर नै विजेता बन्न सकिने भएपछि यो कस्तो प्रतियोगिता हो?” उहाँले आयोजकले पैसाको लोभ देखाएर विद्यार्थी र अभिभावकलाई शोषण गरिरहेको आरोप लगाउनुभयो।
चिठ्ठा र भोटिङको नाममा भइरहेको यो अवैध कारोबारबारे स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले चासो नदेखाएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, स्याङ्जाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 
यस विषयमा आयोजकलाई सम्पर्क गर्ने धेरै प्रयास गरिए पनि उनीहरूसँग कुराकानी हुन सकेन।
यो घटनाले स्थानीय कलाकारहरूको प्रतिभालाई प्रोत्साहन गर्नुको सट्टा आर्थिक शोषणको माध्यम बनाएको आरोप लागेको छ। निष्पक्षतामाथि नै प्रश्न चिह्न खडा भएको यस कार्यक्रमबारे प्रशासनले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update