Syangja Update Communication
वालिङमा चर्को वित्तीय अस्थिरता, बैंक तथा वित्तीय क्षेत्र एवम् सहकारीहरुबाट ऋण लिने र नतिर्ने परिपाटीले

वालिङमा चर्को वित्तीय अस्थिरता,बैंक तथा  वित्तीय क्षेत्र एवम् सहकारीहरुबाट ऋण लिने र नतिर्ने परिपाटीले बढ्दै संकट
अकला आवाज संवाददाता
वालिङ् स्याङ्जाको मात्रै होइन गण्डकी प्रदेशको एउटा महत्त्वपूर्ण व्यापारीक केन्द्र समेत हो । वालिङ् व्यापारीक एवम् शैक्षिक हिसाबले समेत एउटा पहिचान बनाएको ग्रामीण सहरको रुपमा स्थापित छ । तर पछिल्ला केही आर्थिक सुचकहरुले वालिङ् वित्तीय संकट र आर्थिक अराजकताको गम्भीर घुम्तीमा पुगेको आकलन गरिएको छ । पछिल्लो ८/१० बर्ष यता बैंक र सहकारीहरुको बाढी आयो । बैंक र सहकारी एवम् लघुवित्तहरुले अन्धाधुन्ध लगानीको अस्वस्थ प्रतिस्पर्धा बढाए । सोही परिस्थितिमा ऋणको सहज उपलब्धताले जताततै  विना अध्यन लगानी गर्ने र त्यसबाट अपेक्षित आम्दानी नहुदा लगानी संकटमा परेपछि समस्या पैदा भएको जानकारहरु बताउछन्  ।
पछिल्लो समय वालिङमा झण्डै डेढ दर्जन भन्दा धेरै घरहरू विभिन्न बैंकहरुबाट लिलाम भईसकेका छन् भने ७० प्रतिशत भन्दा धेरै घर एवम् जग्गा तथा घडेरीहरु समेत बैंकमा रहेको देखिएको छ ।

चर्को वित्तीय अस्थिरता र अराजकताले स्थानीयवासीको आर्थिक जीवन झनै संकटग्रस्त बनाएको छ। विना पर्याप्त अध्ययन तथा जोखिम मूल्याङ्कन नै नगरी गरिएको लगानी र सोही लगानीबाट आम्दानी नआएपछि ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएको छ। यसको सिधा असर स्थानीय बैंक तथा वित्तीय क्षेत्रमाथि समेत परेको देखिएको छ।

स्थानीय सहकारी संस्था र बैंकहरूबाट लिइएको ऋण समयमै नतिर्नेसंख्या बढ्दै जाँदा सम्पूर्ण वित्तीय प्रणालीमाथि प्रश्न उठ्न थालेको छ। बैंकिङ क्षेत्रका जानकारहरू भन्छन्, “लगानी गर्ने बेलामा व्यावसायिक योजना बिना नै ऋण लिएपछि त्यसबाट प्रतिफल नआएपछि समस्या सिर्जना भएको हो।”

वालिङमा पछिल्लो समयमा विभिन्न क्षेत्र—जस्तै निर्माण, कृषिको व्यावसायीकरण, र स्थानीय उद्योगहरूमा लगानी गर्ने नाममा ठूलो परिमाणमा ऋण लिइएको पाइन्छ। तर, योजनाको स्पष्टता नहुँदा र बजारको मागअनुसार उत्पादन तथा सेवा प्रवाह नहुँदा अधिकांश सामुहिक एवम् निजी  परियोजनाहरू असफल भएका छन्।

यसरी बढ्दो वित्तीय अराजकताले न केवल व्यक्तिको आर्थिक सुरक्षामा आघात पुर्‍याएको छ, तर स्थानीय बैंक तथा सहकारीहरूको पुन: लगानी क्षमतामासमेत नकारात्मक असर पारिरहेको छ।

यस विषयमा वालिङ नगरपालिकाका सम्बन्धित निकाय तथा बैंकहरूबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु अपरिहार्य देखिएको छ। यदि यो समस्यालाई गम्भीरतापूर्वक लिएर सर्वपक्षीय छलफल र समन्वय मार्फत समाधान नखोजे वालिङ् थप समस्यामा जाने देखिन्छ ।
राजनीतिक क्षेत्रमा सक्रिय र स्थानीय बजारमा पहुँच समेत राख्ने ऋणीहरुको आडम्बरले समेत अर्थसंकट झन गहिरिएर गएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २६, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update