Syangja Update Communication
राम्दीघाट व्यवस्थित गराउन ढिला नगरौं, बरु नागरिक स्तरबाट अभियान चलाउ ।

राम्दीघाट व्यवस्थित गराउन ढिला नगरौं ,बरु नागरिक स्तरबाट अभियान चलाउ ।
भिरकोट,वालिङ् र गल्याङ नगरपालिकालाई विशेष ध्यानाकर्षण ।

साउने झरी लगातार परिरहेको छ । राम्दीघाटमा कोही छाता,कोही प्लास्टिक ,कोही त्रिपाल किन्न त कोही शव जलाउने दाउरा व्यवस्थापनमा जुटिरहेका छन् । मुसलधारे पानी परिरहेको छ । घाट पुगेका मलामीहरु भागाभाग गर्दै होटल तिर कुदिरहेका छन् । कालिगण्डकी निरन्तर बढिरहेको छ । मुसलधारे पानी र कालिगण्डकीको बहाव घट्ने कुनै छाटकाट् देखिएको छैन् ।
शव नदि किनारमा पुग्यो,आउनुपर्ने सबै आफन्तजन आईपुगे तर लगातारको मुसलधारे पानीले शव जलाउन सकिएको छैन् ।
सयौं बर्षदेखि मानिएको यो राम्दीघाटमा एउटा व्यवस्थित घाट बनेको छैन् । तपाईं हाम्रा पिता पुर्खा यहीँ घाटबाट अन्तिम विदाई गर्दै घर फर्कदै गरेका छौँ । भोलि तपाईं हामी पनि यहीँ ठाउँबाट अस्ताउने हो ।
तर मुसलधारे पानी र टन्टलापुर घामबाट बचेर आफ्नो आफन्तको अन्तिम विदाइ गर्ने एउटा व्यवस्थित र सजिलोघाट समेत नहुदा आफन्त गुमाउनुपरेको पीडा त छदैछ,उल्टो पानी आएर भागाभाग गर्नुपर्ने बाध्यता कति हो कति !

धेरै पार्टीका नेता कार्यकर्तालाई पार्टीको झण्डा ओढाएर विदाई पनि गरिन्छ । श्रद्धाञ्जली भाषण पनि छुटाईदैन् तर एउटा गतिलो र व्यवस्थित घाट नहुदा हजारौं मलामीहरुले हैरानी भोग्नुपरेको छ ।
यो बारेमा सरोकारवाला धेरैलाई ध्यानाकर्षण र जानकारी पनि गरिरहेका छौँ,तर सुन्नुपर्ने निकायलाई चासो दिदैनन् ।

गल्याङ नगरपालिकाले डिपिआर तयार पारेर प्रदेश र संघीय सरकारलाई बुझाएको बताउछ्,तर कोही कसैले चासो देखाउदैनन् ।

राम्दीघाटमा जलिरहेको चितामाथि पुनः मुसलधारे पानीले जिता निभाउछ्,कोही मट्टीतेल किन्न दगुर्छन् । कोही टायर खोज्नुपर्छ कि भनेर सोच्दैछन् तर शव आधामात्रा जलेको छ ।

यो मसानघाटबाट कसैलाई विरोध गर्न खोजिएको पनि होइन,आफन्त गुमाएको पिडामा ढुङ्गा माथि प्लास्टिक ओढेर तप्-तप् आँसु बगाएका मनहरुलाई लगातार परिरहेको झरीले पखालिरहेको पनि छ ।

यदि सरकारले गरेन ठिकै छ । सरकार पशुपति आर्यघाटबाट विदाई हुन खोजेको होला तर स्याङ्जा र पाल्पाका सर्वसाधारण जनताको अन्तिम विदाइ स्थान राम्दीघाट व्यवस्थित बनाउन तपाईं हामीले नागरिक स्तरबाट  चन्दा अभियान चलाएर भएपनि व्यवस्थित घाट(पानी आउदा भाग्न नपर्ने,धुवाँ पुताउदै गरेको आफन्तको अर्धनग्न शरीर छाडेर हिड्न नपर्ने) व्यवस्थित घाट बनाउन लागि हातेमालो गरौँ !

Dumre Prakash को फेशबुक पेजबाट ।

प्रकाशित मिति: आइतबार, साउन १९, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update