Syangja Update Communication
शुभयात्रा नेपालको नवौं अधिवेशन सम्पन्न, नया नेतृत्व चयन

शुभयात्रा नेपालको नवौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
अकला संवाददाता 
सामाजिक र आध्यात्मिक रूपान्तरणमा समर्पित संस्था शुभयात्रा नेपालले आफ्नो नवौं महाधिवेशन भव्य रूपमा सम्पन्न गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। संस्थाका संस्थापक मधुसुदन गैह्रे पुनः अध्यक्षमा चयन हुनु भएको हो। साथै उपाध्यक्षमा सुनिता काफ्ले गौडेल (काठमाण्डौं), सचिवमा राजकुमार खड्का (दाङ) र सदस्यहरूमा गोविन्द तिवारी (स्याङ्जा), प्रभा चौधरी (दाङ) र राजेश्वर तिवारी (काठमाण्डौं) चयन भएका छन्।

कार्यक्रममा प्रमुख आतिथ्य ऋषि प्राज्ञ डा. जगमान गुरुङ रहनुभएको थियो भने बालगुरू बैश्नानन्द बर्मचारी तपसी, गरिमा CEO एवं संस्थापक सदस्य माधव कुमार उपाध्याय,देवी अर्याल,दिपेन्द्र क्षेत्री,विश्व हिन्दु संघ अध्यक्ष ऋषिकेश शाह, ने.सा.पु.संघ महासचिव राजेन्द्र पाण्डे, कलाकार रूपक डोटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पूर्व उपसचिव बद्रीनाथ पोखरेल र रुपन्देही शाखा अध्यक्ष मुक्तिनाथ गैरेले गर्नुभएको थियो।
गल्याङ नगरपालिका वडा ११ का सदस्य मोहन डुम्रेले धार्मिक पर्यटनको महत्वलाई उजागर गर्दै पहल गर्ने बताउनुभएको छ ।

वि.सं. २०५४ मा स्याङ्जाको वालिङबाट स्थापना भएको शुभयात्रा नेपालले हाल केन्द्रीय रूपमा आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्था हाल ११ वटा जिल्लामा शाखा विस्तार गरिसकेको छ भने नयाँ कार्यकालमा २५ जिल्लामा विस्तार गर्ने लक्ष्य राखिएको छ।

संस्थाको आगामी योजना अत्यन्त दूरदृष्टिपूर्ण छन्। यसले सातै प्रदेशमा गौ निकुञ्ज स्थापना गर्ने लक्ष्य लिएको अगुवा राजु डुम्रेले बताउनुभएको छ । जसको सुरुआत कपिलवस्तुबाट हुँदैछ। साथै कालीगण्डकी सुस्तादेखि दामोदर कुण्डसम्मका क्षेत्रहरूमा आश्रम, कुटी तथा साधना केन्द्रको पुनर्निर्माण र स्थापना गरिनेछ। हाल गल्याङ–९, हुङ्गीघाटमा आश्रम निर्माणको काम थालिएको छ।

शुभयात्राले दीर्घकालीन योजनाको रूपमा क्यान्सर अस्पताल निर्माण पनि अघि सारेको छ, जसका लागि जग्गा छनोट प्रक्रिया प्रारम्भ भइसकेको छ। यसैगरी, स्याङ्जाको वालिङ–१०, बझाकोटमा मगर होमस्टे व्यवस्थापन गरी पर्यटन प्रवर्द्धन गर्ने कार्य समेत अगाडि बढाइएको छ।

महाधिवेशनको अन्त्यमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले आफ्ना अनुभव र प्रतिवेदन प्रस्तुत गरेका थिए, जसले संस्थाको भावी दिशा र गति स्पष्ट पारेको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update