
जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न ।
जेष्ठ ६
रामपुर पाल्पा, रामपुर नगरपालिका–५ मा वडा स्तरीय जेष्ठ नागरिक भेला सहित सम्मान तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा भेला तथा सम्मान र रामपुर आयुर्वेद अस्पतालको आयोजनामासंगै जेष्ठ नागरिक स्वस्थ्य सचेतना र औषधी वितरण कार्यक्रम भएको हो । वडा भित्रका ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरी वडा स्तरिय जेष्ठ नागरिक सन्जाल गठन, सम्मान तथा शिविर मार्फत स्वास्थ्य परिक्षण उपचार तथा ओषधी वितरण गरिएको थियो ।
रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले भेलालाई सम्बोधन गर्नु हुँदै जेष्ठ नागरिक जिउँदो भगवान भएको बताउँदै उहाँहरुको उचित सम्मान गर्नु नगरको दायित्व रहेको बताउनुभयो । थापाले नगरको सिमित स्रोत र साधनका विच जेष्ठ नागरिकहरुको सम्मानमा कुनै कमी हुन नदिने बताउनुभयो । नगरपालिकाले सञ्चालन गरिरहेको गतिविधिको बारेमा जानकारी गराउनुहुँदै जेष्ठ नागरिकको सम्मानमा जेष्ठ नागरिक स्कुल सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । अभिभावकलाई हेला गर्ने सन्तानको कहिल्यै भलो नहुने बताउँदै जेष्ठ नागरिकको सल्लाह अनुसार अघि बढ्न सके जीवनमा कहिल्यै दुःख नपाईने बताउनुभयो । जेष्ठ नागरिक अनुभव र ज्ञानको खानी रहेको बताउँदै उहाँहरुको उचित सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सदा आशिर्वाद दिईरहनु हुने जेष्ठ नागरिकहरुको सम्मानमा कार्यक्रम गरिएको बताउनुभयो ।वडा स्तरिय जेष्ठ नागरिक मन्च गठन संगै वडामा बसोबास गर्नुहुने जेष्ठ सदस्यहरुको सम्मान र सचेतनाको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । जेष्ठ नागरिकहरु माथि कहिँ कतै सन्तान बाट हेला भएमा वडा तथा नगरका जनप्रतिनिधिहरुलाई खबर गर्न अनुरोध गर्नुभयो । उहाँले वडामा भएका विकास तथा कार्यक्रमको गतिविधिसंगै जेष्ठ नागरिकको लागि संचालन गरिएका कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य मायाँ नेपालीले जेष्ठ नागरिकको आशिर्वाद ग्रहण गर्दै नगरपालिका र वडाले आफ्नो गतिविधि अघि बढाउने बताउनुभयो ।
रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष क्याप्टेन हिमाल मल्लले जेष्ठ नागरिकहरुको सम्मानमा वडाले गरेको कामको प्रशंसा गर्नु भएको थियो । रामपुर नगरपालिका सल्लाहाकार फणेश्वर गौतमले जेष्ठ नागरिकहरुलाई नियमित स्वस्थ्य जाँच गर्न आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिका भित्र रामपुर अस्पताल संगै रामपुर आयुर्वेदले प्रदान गर्ने सेवाको भरपुर सदुपयोग गर्न सुझाव दिनुभएको थियो ।
जेष्ठ नागरिक मन्च रामपुर ६ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले जेष्ठ नागरिकहरुको अधिकारका लागि संघले आफ्नो गतिविधि सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा नेपालीकांग्रेस रामपुर ५ का उपसभापति मित्रलाल गैरे, नेकपा एमाले रामपुर ५ का अध्यक्ष मिनराज रेग्मी, टोल विकास संस्थाका संयोजक विश्व प्रकाश लम्साल, लक्ष्मी तिवारी र कृतिनाथ गौतम इश्वरी प्रसाद अधिकारीले आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमकै अवसरमा रामपुर आयुर्वेद अस्पतालका डा. बालिका विसीले जेष्ठ नागरिकहरुलाई स्वस्थ्य सम्बन्धी सचेतना सहजिकरण गर्नु भएको थियो । साथै भेलामा सहभागी २०० भन्दा बढी जेष्ठ नागरिकहरुको आयुर्वेद अस्पतालका स्वास्थ्यकर्मीहरुले रक्तचाप परीक्षण गरेका थिए । जेष्ठ नागरिकहरलाई खादा ओढाएर, शक्ति वर्दक औषधी अश्र्वगन्ध चुर्ण प्रदान गरी सम्मान गरिएको थियो । वडा सदस्य नरेन्द्र कुमार जर्घाको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई वडा सदस्य युवराज शाहीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रमको सञ्चालन वडा कार्यालय सहायक बासुदेव ढकालले गर्नु भएको हो ।
यस्तै भेलाले केशर बहादुर खाँणको अध्यक्षतामा वडा स्तरीय जेष्ठ नागरिक संजाल गठन गरेको छ । जेष्ठ नागरिक वडा संजालको उपाध्यक्षमा सरस्वती डोटेल, सचिवमा कृतिनाथ गौतम, कोषाध्यक्षमा लक्ष्मी तिवारी रहनु भएको छ । सदस्यहरुमा दोवराज ढुङ्गाना, देवराज अर्याल, यम प्रसाद पौडेल, भरत बहादुर दरैं, ठाकुर प्रसाद भट्टराई, मित्रलाल गैरे, ज्याम बहादुर राना, नुर माया विक, ढाका कुमारी पौडेल र पुननारायण श्रेष्ठ चयन हुनु भएकोछ ।