Syangja Update Communication
वालिङमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न, ५० छात्राको उत्साहजनक सहभागिता


स्याङ्जा, वालिङ ।
       रोट्र्याक्ट क्लब अफ वालिङको आयोजना र वालिङ नगरपालिका ४ नम्बर वडाको सहकार्यमा हिमाली माध्यमिक विद्यालयमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ। वालिङ नगरपालिका–४ स्थित हिमाली मा.वि.मा आयोजित कार्यक्रममा दुई विद्यालयका कक्षा ६ देखि १२ सम्मका करिब ५० जना छात्राहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता रोट्र्याक्ट क्लब अफ वालिङकी अध्यक्ष आयुष्मा काफ्लेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वडा नं. ४ का अध्यक्ष हरि प्रसाद खनालको उपस्थिति रहेको थियो। त्यसैगरी शिक्षा शाखा अधिकृत गीता पाठक, रोटरी क्लबका पूर्व अध्यक्ष युबराज पाठक, रोटरी क्लबकी पूर्व सचिव तथा सामाजिक अभियान्ता जैसरा रेग्मी र हिमाली मा.वि.का प्र.अ. खगेन्द्र ढुंगाना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले महिलाहरूको नेतृत्व विकास र सामाजिक सहभागिता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। शिक्षा शाखा अधिकृत पाठकले किशोरी तथा छात्राहरूलाई आत्मविश्वास, निर्णय क्षमता र सीप विकासतर्फ उन्मुख हुन आग्रह गर्नुभयो। अन्य वक्ताहरूले पनि महिलाको सशक्त उपस्थिति बिना समुन्नत समाज निर्माण असम्भव रहेको धारणा राख्नुभयो।
कार्यक्रम संयोजन तथा सहजीकरण सफल लुइटेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बिना रेग्मीले गर्नुभएको थियो। स्वागत मन्तव्य रोटरी परिवारको तर्फबाट जैसरा रेग्मीले दिनुभएको थियो। कार्यक्रम अवधिभर नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा व्यक्तिगत क्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो।
अध्यक्ष काफ्लेले समुदायका किशोरी तथा महिलाहरूलाई नेतृत्व, क्षमता र सामाजिक सहभागितामा प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा यस्ता सचेतनामूलक तथा सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सक्रिय सहभागिता, अन्तरक्रिया र सकारात्मक ऊर्जा सहित सम्पन्न उक्त कार्यक्रमले छात्राहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्यमा नेतृत्वदायी भूमिकामा अगाडि बढ्न प्रेरणा दिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update