वालिङ संवाददाता
स्याङ्जा
यही माघ १४ गतेदेखि सुरु हुन लागेको ‘नवौं वालिङ महोत्सव’ को समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने हुनुभएको छ।
यसअघि आयोजक वालिङ उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकका गभर्नरलाई प्रमुख अतिथिका रूपमा ल्याउने तयारी गरेको थियो। तर, पछिल्लो परिस्थितिका कारण गभर्नर नआउने भएपछि महासंघका अध्यक्ष ढकाललाई आमन्त्रण गरिएको संघका महासचिव रमेश अर्यालले जानकारी दिनुभयो।
- माघ १४ गतेदेखि २५ गतेसम्म।
- स्थान: वालिङ खेल मैदान, स्याङ्जा।
- उद्घाटन: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल।
महोत्सवलाई भव्य बनाउनका लागि यतिबेला वालिङ खेलमैदानमा स्टल निर्माण, प्रचारप्रसार र अन्य व्यवस्थापकीय कार्यहरू तीव्र पारिएको छ।
महोत्सव सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संघले ठेकेदार प्रशान्त विकलाई दिएको बुझिएको छ। स्रोतका अनुसार करिब सवा करोड रुपैयाँमा महोत्सवको ठेक्का दिइएको हो। यद्यपि, ठेक्का सम्झौता र रकमका बारेमा वालिङ उद्योग वाणिज्य संघले हालसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
यस महोत्सवले वालिङ र आसपासको क्षेत्रको आर्थिक चलायमान बढाउने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र पर्यटनमा टेवा पुऱ्याउने अपेक्षा गरिएको छ।


