Syangja Update Communication
वालिङमा जलवायुमैत्री पानी व्यवस्थापन सबलीकरण कार्यक्रम सम्पन्न


स्याङ्जा 
           जलवायु परिवर्तनका कारण दिनप्रतिदिन बढ्दो पानी संकट न्यूनीकरण गर्दै दिगो तथा जलवायुमैत्री पानी व्यवस्थापन प्रणाली विकास गर्ने उद्देश्यका साथ वालिङ नगरपालिकामा जलवायुमैत्री पानी व्यवस्थापन सबलीकरण कार्यक्रम सम्पन्न भएको छ।
वालिङ नगरपालिकाको कार्यालय, वालिङमा आयोजना गरिएको उक्त कार्यक्रममा जलवायु परिवर्तनले स्थानीय तहमा पारेको प्रभाव, त्यसबाट उत्पन्न पानी संकटका चुनौतीहरू तथा तिनको दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विशेष गरी स्थानीय सरकारको नेतृत्वमा अपनाउन सकिने सफल अभ्यासहरू, नवीन विधिहरू र नीतिगत सुधारका विषयमा सरोकारवालाबीच अनुभव आदान–प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण भू–जल सुक्दै जानु, मुहानहरू संरक्षणको अभाव, असन्तुलित शहरीकरण र अव्यवस्थित पानी उपयोगका कारण भविष्यमा गम्भीर पानी संकट आउन सक्ने चेतावनी दिएका थिए। त्यसको समाधानका लागि वर्षा पानी संकलन, मुहान संरक्षण, समन्वित जलस्रोत व्यवस्थापन, समुदायको सहभागिता तथा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रमको मिति २०८२ साल पुस १३ गते सम्पन्न भएको हो। कार्यक्रमको कार्यान्वयन साझेदारको रूपमा नेपाल पानी सदुपयोग फाउन्डेशन (NWCF) रहेको छ भने कार्यान्वयन इकाइ वालिङ नगरपालिका रहेको छ। साथै, कार्यक्रमका लागि द एशिया फाउन्डेशन (TAF) ले आर्थिक सहयोग प्रदान गरेको छ।
कार्यक्रम वालिङ नगरपालिकाका प्रेस संयोजक सुशील सुबेदीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता वालिङ–८ का वडा अध्यक्ष दामोदर तिवारीले गर्नुभएको थियो। अध्यक्ष तिवारीले स्थानीय तहमा जलवायु अनुकूल विकास कार्यक्रमलाई संस्थागत गर्दै पानी व्यवस्थापनलाई नगरको प्राथमिक एजेन्डाका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वालिङ नगरपालिकाका रोजगार शाखा प्रमुख पवन बस्याल, योजना शाखा प्रमुख गणेश पौडेल तथा इन्जिनियर निलकण्ठ गैह्रेले पालिकाका वर्तमान योजना, नीतिगत कार्यक्रमहरू तथा NWCF र वालिङ नगरपालिकाबीच हुन सक्ने सहकार्यका सम्भावनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँहरूले जलवायुमैत्री परियोजनालाई दीर्घकालीन रूपमा सफल बनाउन स्थानीय सरकार, गैरसरकारी संस्था र समुदायबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा वालिङ नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तनसँग जुध्न स्थानीय तहमा यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको भन्दै आगामी दिनमा व्यवहारिक कार्यान्वयनमा जोड दिन सुझाव दिएका थिए।
कार्यक्रमबाट स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य र समन्वय मजबुत भई जलवायु अनुकूल पानी व्यवस्थापनका सफल अभ्यासहरूलाई वालिङ नगरपालिकामात्र नभई अन्य पालिकामा समेत विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update