गल्याङ, स्याङ्जा।
सन २०१८ मा स्थापना भएर निरन्तर सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धनमा सक्रिय रहेको गल्याङ जेसीजले यस वर्षको जेसीज सप्ताह २०२५ लाई यहि मिति २०८२-०८-२६ गते देखि २०८२-०९-०३ गते सम्म विशेष रूपमा मनाउने घोषणा गरेको छ। संस्थाले सार्वजनिक गरेको कार्यक्रमहरू यस वर्षको सप्ताहलाई अझ प्रभावकारी, सामुदायिक तथा युवामैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।
गल्याङ जेसीजका अनुसार कार्यक्रमहरूले समुदायमा चेतना, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना बढाउनेछ। साथै स्वास्थ्य, वातावरण, सांस्कृतिक संरक्षण र नेतृत्व विकासमा केन्द्रित विविध कार्यक्रमहरू मार्फत नगरलाई अझ सुन्दर र सचेत बनाउने लक्ष्य राखिएको छ।
यस वर्षका कार्यक्रमहरूमा धार्मिक, सांस्कृतिक, स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका गतिविधिदेखि युवाहरूका लागि नेतृत्व तथा ज्ञान वृद्धि कार्यक्रमसम्म समावेश गरिएको छ। रक्तदान अभियान, बटुक भोजन–सत्संग, सेयर बजार सम्बन्धी तालिम, विद्यालयस्तरीय ट्राफिक सचेतना, स्लो बाइक रेस, जेब्राक्रसिङ निर्माण, फोहर टिप्ने प्रतियोगिता र सडक साइनबोर्ड सरसफाइजस्ता कार्यक्रमले नगरमा प्रत्यक्ष प्रभाव पार्नेछन्।
गल्याङ क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व बोकेको सेतिवेणी सालिग्राम शिला संरक्षण तथा प्रवर्द्धन कार्यक्रम यस वर्षको सप्ताहकै मुख्य आकर्षण मानिएको छ। यसले स्थानीय तथा बाह्य पर्यटकको ध्यान आकर्षण गर्ने तथा गल्याङको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा पु¥याउने अपेक्षा गरिएको छ।
यस्तै, संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरूलाई सम्मान गर्दै आयोजित चिया गफ कार्यक्रमले संगठनको इतिहास, परम्परा र निरन्तरतामा नयाँ उर्जा प्रवाह गर्नेछ। सदस्य र परिवारबीच सहकार्य तथा एकताको सम्बर्द्धनका लागि जेसीज पारिवारिक वनभोज पनि आयोजना गरिने तयारी छ।
जेसीज सप्ताहअन्तर्गत जेसीज पार्क निर्माणको पहिलो चरण समेत सुरु गरिने योजना आएको छ, जसलाई दीर्घकालीन सामुदायिक संरचना तथा हरियाली प्रवर्द्धन परियोजनाकै रूपमा हेरिएको छ। स्वास्थ्य क्षेत्रमा एण्टिबायोटिक दुरुपयोग तथा सुरक्षित प्रयोग सम्बन्धी सचेतना कार्यक्रमले स्थानीय बासिन्दालाई महत्वपूर्ण ज्ञान प्रदान गर्नेछ।
यो वर्षको जेसीज सप्ताह हामीले समुदायलाई प्रत्यक्ष र दीर्घकालीन प्रभाव पार्ने गरी अत्यन्तै योजनाबद्ध रूपमा ल्याएका छौँ। स्वास्थ्य, वातावरण, सडक सुरक्षा, पर्यटन प्रवर्द्धन र नेतृत्व विकास—सबै क्षेत्रलाई समेटिएको यो अभियान गल्याङ नगरमै सबैभन्दा प्रभावकारी सप्ताह हुनेछ।
स्थानीय निकाय, विद्यालय, सामाजिक संघ–संस्था तथा समुदायको सहकार्यमा सञ्चालन हुने यी कार्यक्रमहरूले गल्याङलाई सामाजिक चेतना, स्वास्थ्य सुरक्षा, वातावरणीय स्थिरता र पर्यटन प्रवर्द्धनका क्षेत्रमा अग्रसर नगरका रूपमा उभ्याउने विश्वास व्यक्त गरिएको छ।


