Syangja Update Communication
नगर प्रमुखलाई ज्ञापनपत्र : वालिङका व्यवसायी र स्थानीयद्वारा बैङ्कको ज्यादती रोक्न माग


वालिङ, 
        स्याङ्जा। वालिङ नगरपालिका क्षेत्रभित्रका व्यवसायी तथा स्थानीय बासिन्दाहरूले बैङ्क तथा वित्तीय संस्थाहरूको बढ्दो ज्यादती र त्यसबाट सिर्जित 'घरबारविहीन' हुने अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वालिङ नगर प्रमुख समक्ष ज्ञापनपत्र हस्तान्तरण गरेका छन्।
आर्थिक मन्दीका कारण व्यवसाय धराशायी बनेको र चर्को ब्याजदरले जीवनयापन कठिन भएको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणीहरूलाई मानसिक दबाब दिने र सम्पत्ति कब्जा गर्ने प्रयास गरेको उनीहरूको आरोप छ।
वडा कार्यालयमाथि गम्भीर आरोप
ज्ञापनपत्रमाथि सबैभन्दा गम्भीर प्रश्न वडा कार्यालयहरूको कार्यशैलीमाथि उठाइएको छ। व्यवसायीहरूका अनुसार, कतिपय वडा कार्यालयहरूले सम्बन्धित ऋणी वा घरधनीको उपस्थिति र सहमतिबिना नै बैङ्क तथा वित्तीय संस्थाहरूलाई 'घर/बाटो सिफारिस' दिने गरेका छन्।
व्यवसायीहरूको प्रतिनिधित्व गर्दै ज्ञापनपत्र बुझाउन पुगेका स्थानीयहरूले भने, "ऋणीको सहमतिबिना यसरी सिफारिस दिनु सरासर गैरकानुनी हो। बैङ्कहरूले यही सिफारिसलाई आधार बनाएर ऋण चुक्ताका लागि थप दबाब दिने र सम्पत्ति लिलामी प्रक्रियालाई बढावा दिने गरेका छन्। यसले वालिङका सयौँ व्यवसायी र परिवारहरू घरबारविहीन हुने सङ्कट मा परेका छन्।"
नगर प्रमुख समक्ष मुख्य मागहरू
ज्ञापनपत्रमा नगर प्रमुखलाई यथाशीघ्र हस्तक्षेप रोक्न  माग गर्दै निम्न तीन बुँदे माग अघि सारिएको छ:
१.  ऋणीको उपस्थिति अनिवार्य: सम्पूर्ण वडा कार्यालयहरूलाई तत्काल सम्बन्धित ऋणी वा घरधनीको भौतिक उपस्थिति र लिखित सहमतिबिना कुनै पनि प्रकारको घर/बाटो सिफारिस नदिन कडाइका साथ निर्देशन जारी गरियोस्।
२.  कारबाही र अनुगमन: निर्देशनको अवज्ञा गर्ने वडा कार्यालयका कर्मचारी वा पदाधिकारीहरूलाई तत्काल अनुगमन गरी नियमअनुसार कारबाही गरियोस्।
३.  बैङ्क ज्यादती नियन्त्रण: चर्को ब्याजदर र मानसिक तनाव दिने बैङ्कहरूको व्यवहार नियन्त्रणका लागि नगरपालिकाले तत्काल पहलकदमी लियोस्।
नगर प्रमुखले ज्ञापनपत्र बुझ्दै, नगरवासीको समस्याप्रति आफू गम्भीर रहेको र यस विषयमा तत्काल छानबिन गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलले जनाएको छ।
स्थानीय व्यवसायी तथा बासिन्दाहरूले नगर प्रमुखको यो कदमले आफूहरूको सम्पत्तिको सुरक्षा हुने र बैङ्क तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update