Syangja Update Communication
वालिङमा 'सडक खाना महोत्सव'को तयारी तीव्र: महोत्सव स्थलमा सरसफाइ सम्पन्न


वालिङ, मंसिर १६।
वालिङ नगरपालिकाले मंसिर १७ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको तीन दिने 'सडक खाना महोत्सव' को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सवको तयारी स्वरूप सोमबार महोत्सव स्थल वरपर बृहत् सरसफाइ कार्य सम्पन्न गरिएको छ।
खाना महोत्सवलाई व्यवस्थित र सफा बनाउन नगरपालिकाले सरसफाइमा विशेष ध्यान दिएको छ। महोत्सव अवधिभर वालिङको सडकमा विभिन्न प्रकारका परिकारहरूको स्टल राखिनेछ।
महोत्सवको सम्पूर्ण तयारी र व्यवस्थित रूपरेखा सार्वजनिक गर्नका लागि आज  (मंगलबार) बिहान पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको छ। पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवबारे विस्तृत जानकारी र धारणा सार्वजनिक गर्नेछन्।
स्रोतका अनुसार वालिङ नगरपालिकाले छोटो समयको सूचनामा आकस्मिक रूपमा यो महोत्सव आयोजना गर्न लागेको हो। यो कदम रचनात्मक र शहरको प्रवर्द्धनमा सहयोगी हुने अपेक्षा गरिए पनि महोत्सव सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन बारे भने ठोस निर्णय भइनसकेको स्रोतले बताएको छ।
स्थानीय उत्पादन र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको यो सडक खाना महोत्सवले वालिङका बासिन्दा र पर्यटकहरूलाई नयाँ स्वाद पस्कने विश्वास गरिएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update