Syangja Update Communication
पाल्पाको सत्यवती मन्दिरमा अर्को सातादेखि चारदिने मेला सुरु, तयारी तीव्र


पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको मेला अर्को साताको मंगलबारदेखि सुरु हुने भएको छ।
सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाए अनुसार कार्तिक १८ देखि २२ गतेसम्म( यसलाई सच्याइएको) सञ्चालन हुने उक्त मेलाका लागि तयारीलाई तीव्रता दिइएको छ।
🤝 मेला व्यवस्थापन र सुरक्षामा जोड
मेला व्यवस्थापनका लागि बुधबार मन्दिर परिसरमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ। तिनाउ गाउँपालिकाको आयोजनामा भएको छलफलमा ताल तथा मन्दिर व्यवस्थापन समिति, वडाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सबै सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
 * गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भक्तजनले दुःख नपाउने गरी व्यवस्थापनलाई चुस्त राख्न सुरक्षा निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायसँग सहयोगका लागि आग्रह गरे।
 * मेलामा आउने भक्तजनको सहजताका लागि मन्दिरसम्म आउने मोटर बाटो मर्मत तथा सुधार गरिएको छ।
 * गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाका अनुसार मेला व्यवस्थापन र शान्ति सुरक्षाका लागि जिल्ला प्रशासनसहित सुरक्षा निकायका प्रतिनिधिहरुसँग समन्वय गरिने भएको छ।
 * मन्दिर परिसरमा लाइटिङको व्यवस्था र ठाउँ–ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिने उनले जानकारी दिए।
 * मेला अवधिभर मदिराजन्य पदार्थलाई निषेध गरिएको छ।
🚌 यातायात र सुरक्षाका विशेष व्यवस्था
मेलामा आउने भक्तजनका लागि यातायात भाडादरमा एकरूपता कायम गरिएको छ।
 * सिद्धार्थराजमार्गदेखि मन्दिरसम्म पुग्नका लागि २ सय रुपैयाँ भाडादर कायम गरिएको उपाध्यक्ष थापाले बताए।
 * मेला अवधिमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने व्यवस्थालाई ट्राफिक प्रहरी परिचालन गरी कडाईकासाथ लागू गरिनेछ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण अधिकारीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिएको जानकारी दिए। उनले भक्तजनहरूलाई भिडभाडमा हराउन सक्ने जोखिमलाई ध्यानमा राख्दै बहुमूल्य सामान तथा गरगहना नल्याउन आग्रह गरे। साथै, मेला अवधिमा मदिरा सेवन वा शान्ति सुरक्षा खल्बलिने गतिविधि गरेको भेटिएमा कडा कारबाही गरिने चेतावनी पनि उनले दिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update