स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा मिति २०८२ साल कार्तिक २ गते "नागरिक समाज, प्रहरी र स्थानीय प्रशासनबीच सहकार्यलाई निरन्तरता दिई समाजमा शान्ति सुरक्षा कायम राख्ने" उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेको अध्यक्षता तथा पुतलीबजार नगरपालिकाका नगर प्रमुख (मेयर) तुलसीराम रेग्मीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो।
कार्यक्रममा विभिन्न विद्यालय, सङ्घसंस्था, बैंक, स्थानीय आमा समूह र क्लवका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले विगत पाँच महिनामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा सम्पादित मुख्य कार्यहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो।
उपस्थित महानुभावहरूले समग्र जिल्लाको शान्ति सुरक्षा तथा सहकार्य लगायतका विषयमा राखेका जिज्ञासाहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जवाफ दिनुभएको थियो। उहाँले कार्यक्रममा प्राप्त सल्लाह र सुझावहरूको कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा पनि निरन्तर रूपमा सकारात्मक तथा सुधारात्मक पक्षहरूसँग सम्बन्धित विषय वस्तुहरूका बारेमा सल्लाह सुझाव र सूचनाहरूको अपेक्षासहित कार्यक्रम समापन गर्नुभयो।
कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक प्रवेश तिवारीले गर्नुभएको थियो।

