Syangja Update Communication
वालिङको लक्ष्मी सेकेन्डरी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न


वालिङ, स्याङ्जा — वालिङ नगरपालिका वार्ड नं १३ मा रहेको लक्ष्मी सेकेन्डरी स्कुलमा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक सीता गैह्रेसहित करिब ५० जना शिक्षक, शिक्षिका र विद्यार्थीहरू यस कार्यक्रममा सहभागी भएका थिए।
ट्राफिक कार्यालय स्याङ्जाको समन्वयमा आयोजना गरिएको यो कार्यक्रममा वालिङबाट खटिएर आउनुभएका प्रहरी सहायक निरीक्षक नमबहादुर थापाले ट्राफिक नियम तथा सडक सुरक्षाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा बोल्दै प्रहरी सहायक निरीक्षक थापाले सडक दुर्घटनाबाट बच्नका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमका सहभागीहरूलाई पैदलयात्रुले ध्यान दिनुपर्ने कुराहरू, सडक पार गर्ने तरिका, सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी र ट्राफिक संकेतहरूको महत्त्वबारे विस्तृत रूपमा बुझाइएको थियो। यस किसिमका सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई सानै उमेरदेखि सडक सुरक्षाप्रति जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।
विद्यालयका प्रधानाध्यापक सीता गैह्रेले ट्राफिक प्रहरीको यो पहलको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो।

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update